यूएइका हलमा गुड न्यूज र ड्रीम गर्ल

रियाद(एजेन्सी) । कोरोना भाइरसका कारण लामो समयदेखि फिल्म हल बन्द छन् । विश्वका विभिन्न मुलुकमा फिल्म रिलिजमा अहिले रोक लगाइएको छ । तर केही देशको जनजीवन भने विस्तारै सामान्य बन्दै गएको छ । यही मौकामा बलिउडका फिल्महरु विदेशमा रिलिज हुने तयारीमा छन् । यूएई र चीनमा भारतीय फिल्मका दर्शक धेरै छन् । त्यही कारण एकपटक पुनः यूएईमा भारतीय फिल्मले पुनरागमन गर्दैछ ।

समाचार अनुसार दुई फिल्म ‘गुड न्यूज’ र ‘ड्रीम गर्ल’ यूएईका थिएटरमा रिलिज हुँदैछन् । अक्षय कुमार र करीना कपूर खान स्टारर फिल्म ‘गुड न्यूज’ मे २७ देखि यूएईमा थिएटर खुलेकाले त्यहाँ प्रदर्शनको चाँजोपाजो मिलाइएको छ । फिल्म जून ११ मा त्यहाँ रिलिज हुनेछ । अक्षय कुमार अभिनित फिल्मलाई दुबईमा राम्रो साथ मिल्ने गरेको छ । यो फिल्मले भारतमा पनि राम्रो प्रतिक्रिया पाएको थियो । फिल्ममा कियारा आडवाणी र दिलजीत दोसाँझको पनि अभिनय छ ।

यस्तै आयुष्मान खुरानाको फिल्म ‘ड्रिम गर्ल’ जून ११ मै युएईमा रिलिज हुँदैछ । यो फिल्मलाई पनि भारतमा दर्शकले निकै रुचाए । यो एक कमेडी फिल्म हो । जसमा नुसरत भरुचाको पनि अभिनय छ । फिल्मले बक्सअफिसमा राम्रो कलेक्सन गरेको थियो ।