सामाजिक दुरीमा बस्न थाले किम

सोल(एजेन्सी) । कोरोना भाइरसको कहरले विश्व बेहाल भएको छ । चार लाख मानिसहरु मरिसकेका छन् । यो महासंकटका बीच आफूलाई कोरोना भाइरसबाट मुक्त बताउने उत्तर कोरियाका तानाशाह किम जोङ उन निकै लामो समयपछि सार्वजनिक भए । उनी सार्वजनिक हुँदा उनको अनुहारमा मुस्कान थियो, तर हाउभाउ कोरोनाबाट डराएको हो कि भन्ने थियो ।

किमले हालै उत्तर कोरियाको सत्तारुढ आफ्नो वर्कस पार्टीको पोलिट ब्यूरो बैठकको अध्यक्षता गरे । जहाँ पोलिटब्यूरको अन्य सदस्य देखिए । किम भने दुई मिटर दुरी बनाउँदै बसेका थिए । यसअघि उनी गम्भीर रुपले बिरामी भएको समाचार सार्वजनिक भएको थियो । तर उनी बाहिर आएपछि उनीमाथि गरिएको सबै अनुमान फेल खाएको थियो । राजधानी प्योङयाङमा आयोजित बैठकमा किम सामाजिक दुरी कायम गर्दै बसेका थिए ।

उत्तर कोरियाले केही समय अघि आफ्नो देश कोरोना मुक्त रहेको बताएको थियो । यसपछि उनी आफ्नो सहयोगीबाट दुरी बनाएर बस्न थालेका छन् । उत्तर कोरियाले जारी गरेको तस्बिरमा उनी सामाजिक दुरी कायम गरेर बसेको प्रष्ट देखिन्छ । उनको छेउमा रहेका अन्य कुर्सीहरु हटाइएका छन् । तस्बिरमा उनी स्वस्थ देखिन्छन् ।
समाचार अनुसार कोरोना भाइरसको मामला विश्वव्यापी बढ्दै गएपछि किम आफ्नो निजी ट्रेनमा राजधानीबाट बाहिर गएका थिए । यो ट्रेन वोनसन काल्मा प्रायद्वीपमा देखिएको थियो । उनी धेरै मोटो भएका कारण पनि उनमा धेरै रोग देखिएको पनि हल्ला चलेको थियो । उनको मुटुको सर्जरीसमेत भएको कुरा बाहिर आएको थियो ।