जासुससँगै डाक्टर बोण्ड

लसएन्जल्स(एजेन्सी) । जेम्स बोण्ड सिरिजको नयाँ फिल्म ‘नो टाइम टू डाई’मा हलिउड अभिनेता डेनियल क्रेग जासूससँगै पिताको भूमिका पनि निभाउँदैछन् ।फिल्ममा उनी विश्वमा चलेको एक महामारीबाट बचाउने अभियानमा सक्रिय रहेको देखाइनेछ । बोण्ड आफ्नो लभ इन्ट्रेस्ट डा. मेडलिन स्वानकी बच्चाको पिता हुन्छन् । डा. मेडलिनको भूमिका प्रेन्च अभिनेत्री ली सेडक्सले निभाएकी छन् । बच्चाको नाम मेटहील्ड हुन्छ ।

गत हप्ता फिल्मको कलसीट अनलाइन अक्सन साइट इबेमा बिक्रीका लागि पहल शुरु भएपछि यो समाचार बाहिर आएको थियो । फिल्ममा गत वर्ष सेप्टेम्बरमा दक्षिण इटलीका दृश्य राखिएको थियो । मेटहील्डको भूमिकामा अभिनय गर्ने ५ वर्षीया बाल कलाकार लिसा डोरा सन हुन् ।

फिल्मसँग जोडिएको सूत्रका अनुसार डेनियल यो बोण्ड फिल्मलाई बढी अचम्मित र मनोरन्जक बनाउन चाहन्छन् । यो फिल्मले मानवलाई जैविक महामारीबाट कसरी बचाउन सकिन्छ भन्ने कथालाई प्राथमिकता दिएको छ । ‘यो फिल्म कोभिड–१९ मा आधारित होइन । तर त्यस्तै समान र समसामयिक छ’, सूत्रले भन्यो ।

फिल्म ‘नो टाइम टू डाई’ अप्रिल २०२० मा रिलिज हुने तयारीमा थियो । तर कोरोना महामारीका कारण यसको रिलिज अन्य फिल्म जस्तै सार्नुपर्यो । यो फिल्म अब नोभेम्बरमा रिलिज हुने बताइएको छ ।