रंगभेदविरुद्ध बीटीएसको एक मिलियन डलर सहयोग

सोल(एजेन्सी) । दक्षिण कोरियाली पप व्याण्ड बीटीएस र उसको सहयोगी कम्पनी बिग हिट इन्टरटेनमेन्टले अमेरिकामा रंगभेदका विरुद्ध चलिरहेको आन्दोलनको समर्थन गरेका छन् । उनीहरुले आन्दोलनलाई मजबुत बनाउनका लागि एक मिलियन अमेरिकी डलर दान गरेका छन् ।

ब्ल्याक लाइब्स मेटरका प्रबन्ध निर्देशक केली स्केलले सदियौं देखि चलिरहेको अत्याचारको कारण यो समय विश्वभरका अश्वेतहरु पीडामा रहेको बताए । ‘ब्ल्याक लाइब्स मेटरको यो लडाईमा एकजुट हुन बीटीएस र सहयोगी देशको उदारताले हामीहरु अगाडि बढिरहेका छौं’, उनले भनेका छन् ।

बीटीएसले ट्वीट गर्दै आफूहरु नस्लीय भेदभावका विरुद्ध उभिएको उल्लेख गरेका छन् । ‘हामी हिंसाको निन्दा गर्छौ । तपाईं, मलाई र हामी सबैलाई सम्मान पाउने अधिकार छ । हामी एक साथ उभिनेछौं’, बीटीएसको ट्वीटमा उल्लेख छ ।

अमेरिकामा अश्वेत जर्ज फ्लायडको मृत्युपछि अमेरिकाभर प्रदर्शन भइरहेको छ । अन्य देशका मानिसहरु पनि रंगभेदविरुद्ध आवाज उठाइरहेका छन् । यो अभियानलाई हलिउडका ठूला हस्तीहरुले पनि समर्थन र सहयोग गरेका छन् ।