एउटा दुर्घटनाले महिमाले छाडिन् अभिनय

मुम्बई(एजेन्सी) । बलिउड अभिनेत्री महिमा चौधरीले आफ्नो जीवनमा घटेको एउटा पुरानो घटनाको स्मरण गरेकी छन् । जुन दुर्घटनाले उनको करियरलाई छिन्नभिन्न बनाएको थियो । निर्देशक सुभाष घईको फिल्म ‘परदेस’मा काम गरेर रातारात स्टारडमको उचाई पाएकी यही फिल्मबाट बलिउडमा आफ्नो पाइला अगाडि सारिन् । फिल्ममा अभिनेता शाहरुख खानसँगको उनको जोडीलाई दर्शकले निकै रुचाए । यो फिल्म पछि उनको जीवनमा एउटा यस्तो घटना भयो, जुन घटनाले उनले फिल्मबाट टाढिनु परेको थियो ।

हालैको एक अन्तरवार्तामा उनले त्यो घटनाको स्मरण गरेकी छन् । ‘यो घटना सन् १९९९ को हो । म अजय देवगन र काजोलका साथ फिल्म ‘दिल क्या करे’मा काम गरिरहेको थिएँ । बेङ्लोरमा एक ट्रकले मेरो कारलाई ठक्कर दियो । कार र ट्रकको ठक्कर यस्तो तिब्र थियो कि कारको सीसा फुटेर मेरो अनुहारमा लाग्यो । त्यो समयमा मैले आफूलाई मृत्युको नजिक अनुभव गरें’, उनले सम्झेकी छन्, ‘दुर्घटनास्थलबाट कसैले पनि मलाई अस्पताल पुर्याउन सहयोग गरेन । त्यसपछि जसोतसो अस्पताल पुगेपछि मेरी आमा र अजय आए । मैले उभिएर आफ्नो अनुहारलाई ऐनामा हेरें । त्यो समय मलाई निकै डरलाग्यो । जब डाक्टरले मेरो अनुहारको सर्जरी गरे, उनीहरुले ६७ वटा टुक्रा निकाले ।’ उनले भनिन् ।

सर्जरी पछि महिमा स्वस्थ हुन धेरै वर्ष समय लाग्यो । उनले सूर्यको किरण र ऐनाबाट टाढा घरमा नै बस्नुपर्यो । ‘त्यो दुर्घटनापछि फिल्म पाउने सम्भावना एकदमै कम भयो । त्यो समयमा मेरो हातमा निकै फिल्म थिए । मैले त्यो समयमा कसैलाई पनि घटनाको बारेमा केही बताइन् । उनीहरुलाई बताउँदा मलाई नै गाह्रो पथ्र्यो ।’ उनले भनिन् ।