तीन महिनापछि खुल्दै एफिल टावर

पेरिस(एजेन्सी) । विश्वभर कोरोना भाइरसका कारण अर्थव्यवस्था चौपट भएको छ । यो संकटको बेला विश्वव्यापी रुपमा विभिन्न देशहरुले लगाइरहेको लकडाउनलाई केही खुकुलो बनाउदै गएका छन् । फ्रान्सले पनि आर्थिक संकटको अवस्थालाई मध्यनजर गर्दै लकडाउनलाई खुकुलो बनाउने काम शुरु गरिसकेको छ ।

फ्रान्सको एउटा सानको रुपमा रहेको एफिल टावर पनि लकडाउनका कारण झन्डै तीन महिनादेखि बन्द अवस्थामा छ । अब यो टावर आम मानिसका लागि आगामी जून २५ बाट खोल्ने निर्णय सरकारले लिएको छ । यसका सञ्चालकका अनुसार द्वितीय विश्वयुद्ध पछि पहिलोपटक एफिल टावर यति लामो समयसम्म बन्द भएको हो । यद्यपि यहाँ आउने ११ वर्ष भन्दा माथिका सबै मानिसलाई अनिवार्य मास्क लगाउनुपर्ने नियम बनाइएको छ ।

एफिल टावरको वेभसाइटका अनुसार २५ जुनपछि पर्यटकले यो स्थानको भ्रमण गर्न सक्नेछन् । तर यहाँ फेस मास्क अनिवार्य गरिएको छ । यहाँ चढ्न मानिसले लिफ्ट वा एलिवेटरको प्रयोग गर्न पाउने छैनन् । कोरोना महामारीलाई मध्यनजर गर्दै सिढीबाट आउने व्यवस्था गरिएको छ ।

‘सामाजिक दुरीलाई ध्यानमा राख्दै प्रत्येक तलामा सीमित संख्यामा मानिसलाई प्रवेशको अनुमति दिइनेछ । यो निर्णय संक्रमणको जोखिमलाई मध्यनजर गर्दै लिइएको हो । टावरको टप फ्लोर भने बन्द रहनेछ । किनकी त्यहाँ माथि जाने लिफ्ट निकै सानो छ । तर गर्मीको समयमा भने यो खुल्नेछ’, वेबसाइटमा भनिएको छ ।