लकडाउनको असरः हजार बढी परेवा मरे

काबुल(एजेन्सी) । कोरोना भाइरससँग जुधिरहेको अफगानिस्तानमा भोकका कारण १ हजार बढी परेवा मरेका छन् । यी परेवाहरु मजार–ए–शरीफको प्रसिद्ध निली मस्जिदमा पालिएका थिए । कोरोना भाइरसपछिको लकडाउनका कारण यो मस्जिद लामो समयदेखि बन्द थियो । त्यही कारण परेवाले दानापानी खान पाएका थिएनन् । परेवा मरेपछि प्रशासन र सरकार एकअर्कालाई आरोप प्रत्यारोप लगाइरहेका छन् ।

ठूलो संख्यामा परेवा मरेपछि प्रशासन पनि शंकाको घेरामा परेको छ । आनन–फाननमा स्वास्थ्यकर्मीको सहायताले परेवाको मृत शरीरलाई मस्जिदबाट हटाइएको छ । सेतो रंगका यी परेवाहरु मस्जिद परिसरमा बस्थे र उनीहरुको दानापानीको प्रबन्ध मस्जिद प्रशासनले गर्दै आएको थियो ।

कोरोना भाइरस संक्रमण अघि यहाँ दैनिक हजारौं संख्यामा मानिसहरु दर्शन गर्न आउथे । त्यो समयमा उनीहरु परेवालाई दाना खुवाउथे । तर लकडाउनका कारण मानिसहरुलाई मस्जिद भित्र प्रवेश निषेध गरिएको छ । मस्जिद प्रशासनले पनि परेवाका लागि दानापानीको व्यवस्था गरेन ।

हजार बढी परेवा मरेपछि स्थानीयले पंक्षीहरुको दानापानीको व्यवस्थामा चासो देखाएका छन् । उनीहरुले मस्जिदको समस्यालाई स्थानीय सरकार, हज र धार्मिक मन्त्रालयमा पुर्याए पनि उनीहरुले समस्या समाधानमा चासो नदेखाएको आरोप लगाएका छन् ।