सामाजिक दुरीमा स्रष्टालाई अवार्ड

काठमाडौं । रसियामा गर्ने भनिएको नेपाली अवार्ड ‘नेसनल बक्स अफिस म्यूजिक अवार्ड २०७६’ सामाजिक दुरी कायम राख्दै काठमाडौंमा प्रदान गरिएको छ । कोभिड १९ कोरोना भाईरसको कारण विश्व नै लकडाउनमा रहेको अवस्थामा यो अवार्ड बक्स अफिस इन्टरनेसनल ग्रुपले विश्व स्वास्थ्य संगठनको मापदण्डलाई पालन गर्दै सामाजिक दुरी कायम राखी सम्पन गरेको हो ।

संस्थाका अध्यक्ष रामबहादुर सुवेदी (आरके)ले यसभन्दा अघि पनि विश्वमै पहिलो पटक उडिरहेको हवाई जहाज, समुन्द्र भित्र पानीमा, पानीमाथि र विश्वकै सर्वोच्च शिखर सगरमाथाको आधार शिविरमा रचनात्मक अवार्ड आयोजना गरेर गिनिज बुक अफ द वल्र्ड रेकर्डमा नेपालको नाम दर्ता गराई सकेका छन् । नेपाल चलचित्र कलाकार संघका अध्यक्ष रविन्द्र खड्का, नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका परिषद सदस्य अशोक राई, डिभिजन मनाङ मस्याङदी क्लबका अध्यक्ष छिमि गुरुङ, समाजसेबी सोनाम गुरुङ, पत्रकार मदन कुमार श्रेष्ठ र सितादेवी श्रेष्ठलगायत विभिन्न व्यक्तिहरुको विशेष आतिथ्यमा सो अवार्ड प्रदान गरिएको थियो ।

आर्थिक वर्ष २०७५÷०७६ को असार मसान्तसम्म सार्वजनिक भएका चलचित्र,आधुनिक, लोकदोहोरी, लोक, पप, राष्ट्रिय भावनाले ओतप्रोत, तिज, चाडपर्व, भाषाभाषिक, प्रवास, मोफसलसहित प्रतिविधा ३२ ओटाको दरले २ सय २१ वटा अवार्ड प्रदान गरियो । आयोजक बक्स अफिस इन्टरनेशलन ग्रुपले कार्यक्रममा आयोजक अवार्ड, इन्करेजमेन्ट अवार्ड, पब्लिक च्वाईस अवार्ड, क्रिटिक्स अवार्ड र जुरी अवार्ड प्रदान गरेको हो । यो प्रतियोगितामासंगीतकार शम्भुजीत बासकोटा, राजु सिंह, महेश खड्का, चेतन सपकोटा, वसन्त सापकोटा ५ निर्णायक थिए । अवार्डका लागि ३ हजार ७ सय ओटा गीतसंगीत र म्युजिक भिडियोले आवेदन दिएका थिए ।