लकडाउनमा उदाहरणीय सत्कर्म

काठमाडौं । कोरोना भाइरसको महामारीका कारण नेपाल झन्डै दुई महिना बढी समयदेखि लकडाउनमा छ । लकडाउनका कारण सबै क्षेत्र प्रभावित छ । विशेषत बिहान बेलुकाको गुजारा टार्न दैनिक रुपमा काम गर्ने मजदुरहरु बढी प्रभावित छन् । डेरावालको समस्या पनि उस्तै छ । काम गर्न नपाएका कारण उनीहरुलाई महिनावारी भाडा कसरी तिर्ने भन्ने चिन्ता छ । तर उनीहरु चिन्तित भए पनि उनीहरुमा भन्दा बढी चिन्ता उनीहरुको घरमालिकलाई छ । भलै यस्ता मालिक कम नै पाइएलान् ।

यस्तै कथामा पोखराका युवा फिल्मकर्मीहरुले ‘सत्कर्म’ नामक सर्ट फिल्म बनाएका छन् । नेत्र इन्टरटेनमेन्टको व्यानरमा निर्माण भएको फिल्ममा जक्शन डटकमको सहकार्य छ । फिल्मका निर्देशक नेत्र गुरुङका अनुसार लकडाउनको समयमा समस्यामा परेका समूहलाई आफ्नै बलबुताले सहयोग गर्ने समाजका उदाहरणीय व्यक्तिको कथा फिल्ममा देखाइएको छ ।

फिल्ममा रेम विक, विजयराज अधिकारी, राजेन्द्र अधिकारी ‘अपुर्ण’, साधना शर्मा, सबिता कर्माचार्य, भरत छन्त्याल, सबिन गायकलगायतको अभिनय छ । फिल्ममा प्रकाश गुरुङ ‘काश’को छायांकन, निर्देशक गुरुङकै कथा तथा सम्पादन छ । रोहन नेपाली र भरत छन्त्यालको सहनिर्देशन रहेको फिल्ममा जीवन सुनारको स्व्र र संगीत छ ।