गोरक्षनाथले सुधार्लान् नेपाल–भारत सम्बन्ध ?

काठमाडौं । नेपाल र भारतबीचको सदियौंदेखिको पुरानो सम्बन्ध आज अलग मोडमा पुगेको छ । नेपालले आफ्नो भू–भाग कालापानी, लिपुलेख र लिम्पियाधुरालाई समेटेर नयाँ नक्सा जारी गरेपछि दुई देशबीचको सम्बन्धमा केही टकराव शुरु भएको छ । यो नक्साका लागि संविधान संशोधनको विधेयक प्रतिनिधि सभाले पारित गरिसकेको छ ।

भारतीय सञ्चारमाध्यमले दुई देशबीचको तनाव कम गर्न गोरक्षनाथ पीठले महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्ने दाबी गरेका छन् । नेपालमा गोरक्षनाथलाई भगवानको रुपमा पुजा गर्ने र नेपालको मुद्रामा पनि गोरक्षनाथको प्रतीक अंकित रहेकोले पीठको भूमिका महत्वपूर्ण हुने दाबी गरेका हुन् ।

भारतीय सञ्चारमाध्यमले गोरक्षनाथका गुरु मक्षयेन्द्रनाथको सम्झनामा नेपालमा वर्तमान अवस्थामा पनि कार्यक्रम गरिने जनाएको छ । नेपालमा नाथ सम्प्रदायका अनुयायीको संख्या अधिक रहेको र गोरक्ष पीठका सन्तको आदर गर्ने गरेको उनीहरुले उल्लेख गरेका छन् । नेपालका राजपरिवार(शाह परिवार) गोरक्षनाथलाई आफ्नो राजगुरु मान्दछन् । राजवंशले आफ्नो मुकुटमा गुरु गोरक्षनाथको चरण पादुकाको प्रतिक पनि बनाएको भारतीय सञ्चारमाध्यमको दाबी छ । माघे संक्रान्तिको दिन गोरक्षनाथको पहिलो खिचडी गोरक्ष पीठाधीश्वरमा चढाइन्छ । अर्को खिचडी आज पनि नेपालका पूर्व राजाबाट चढाइने गरिएको उल्लेख छ । पूर्व राजाका कोही न कोही प्रतिनिधि आज पनि गोरक्षनाथ मन्दिरमा खिचडी चढाउन आउनेको सञ्चारमाध्यमको दाबी छ ।

नाथ पन्थका बारे खोज अनुसन्धान गर्ने डाक्टर प्रदीप वर्तमान पीठाधीश्वर र उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथलाई नेपाली जनताले सम्मान गर्ने गरेको बताउँछन् । महंत दिग्विजयनाथ, महंत अवैद्यानाथ अक्सर प्रायः नेपाल गइरहने प्रदीपको बुझाई छ । ‘नेपालका विभिन्न स्थानमा गोरक्षनाथको मन्दिर छ । पशुपतिनाथको मन्दिरमा पनि गोरक्षनाथको मन्दिर छ । मुक्तिनाथ धाम नाथ सम्प्रदायकै हो ।’ उनी भन्छन् ।
–एजेन्सीको सहयोगमा