मुम्बई(एजेन्सी) । चर्चित दक्षिण भारतीय फिल्मकी अभिनेत्री तथा ‘बाहुबली’मा शिवगामीको भूमिका निभाउने कलाकार राम्या कृष्णन संकटमा परेकी छन् । प्रहरीले कृष्णनको एसयूवी कारबाट ९६ वटा मदिराका बोतल बरामदसँगै कारका चालकलाई पनि पक्राउ गरेपछि उनी संकटमा परेकी हुन् । प्रहरी चेकजाँचको समयमा अभिनेत्री पनि गाडीमै थिइन् ।
प्रहरीले महाबलीपुरमबाट आइरहेको गाडीको चेकजाँच गरिरहेको थियो । त्यही समयमा प्रहरीले मुतुकाडु चेक पोस्टमा राम्याको टोयोटा इनोवा कारलाई रोकेको थियो । प्रहरीले गाडीको चेकजाँच गर्न थालेपछि राम्या चुपचाप बसेकी थिइन् ।
चेकजाँचको समयमा ९६ बोतल मदिरा बरामद गरेको थियो, जसमा आठ बोतल हार्ड मदिरा थिए । लकडाउनको समयमा मदिरामा प्रतिबन्ध लगाइरहँदा प्रहरीले अभिनेत्रीको गाडीबाट यती धेरै मात्रामा मदिरा बरामद गरेको हो ।
लकडाउनपछि हालसम्म चेन्नइमा मदिरा बिक्रीमा रोक लगाइएको छ । तमिलनाडूको अन्य जिल्लामा मदिरा बिक्रीमा मन्जुरी दिइएको छ ।