पटना(एजेन्सी) । बिहार घर भएका बलिउड अभिनेता सुशान्त सिंह राजपूतले आइतबार मुम्बईको बान्द्रास्थित आफ्नो घरमा आत्महत्या गरेका छन् । उनको आत्महत्याको खबर सार्वजनिक भएपछि पटनाको राजीव नगरको रोड नम्बर ६ मा रहेको उनको घरमा मानिसहरुको भीड लागेको छ । छोराको दुःखद खबर सुनेपछि उनको पिताको स्वास्थ्य अवस्था बिग्रिएको छ ।
राजीव नगरमा रहेको उनको घरमा मानिसहरु भेला भइरहेका छन् । स्थानीयहरु परिवारलाई सान्तवना दिन पनि सकिरहेका छैनन् । स्थानीयका अनुसार पिता कृष्णकुमार सिंहको अवस्था खराब भएको छ, जसकारण उनी बोल्नसमेत सकेका छैनन् ।
यहाँको घरमा एक महिला केयर टेकरका रुपमा छन् । केयर टेकर लक्ष्मी देवीले सुशान्तको मृत्युको खबर टेलिफोनबाट परिवारलाई दिइएको बताइन् । उनका अनुसार सुशान्तकी ठूलो दिदी चण्डीगढमा बस्छिन् । भाइको निधनको खबर सुन्नासाथ उनी पटना हिँडेकी छन् ।
सुशान्त मूल रुपले पूर्णियाको बडहरा कोठीको मलहीडाका बासिन्दा हुन् । पछिल्लोपटक उनी गाउँ आउँदा एक पारिवारिक कार्यक्रममा पनि सहभागिता जनाएका थिए । केही महिना अघि उनी आफ्नो ननिहाल खगडिया पनि आएका थिए र एक मन्दिरमा उनको मुण्डन गरिएको थियो ।