दोहामा अफगान सरकार र तालिबानबीच वार्ता

काबुल(एजेन्सी) । अफगानिस्तान सरकार र आतंकवादी संगठन तालिबानबीच पहिलो शान्ति वार्ता कतारको राजधानी दोहामा हुने भएको छ । वार्ताका लागि आधिकारिक मिति तय नभए पनि अफगान सरकारले ५ हजार तालिबानी कैदीलाई रिहा गर्नासाथ उनीहरुको सम्बन्धमा सुधार हुने आशा गरिएको छ ।

कतारमा तालिबानको राजनीतिक कार्यालय छ । यही उसले गत फेब्रुअरी २९ मा अमेरिकासँग शान्ति सम्झौतामा हस्ताक्षर गरेको थियो । सम्झौता अनुसार अफगान वार्ता शुरु हुनु अघि एक हजार सरकारी कैदीको बदला अफगानिस्तान सरकारले पाँच हजार तालिबानी कैदीलाई रिहाई गर्नुथियो । यद्यपि हालसम्म अफगान सरकारले पाँच सय सरकारी कैदीहरुको बदला मात्र तीन हजार तालिबानी कैदी रिहाई गरेको छ ।

अफगानिस्तान राष्ट्रपति भवनका प्रवक्ता सेदिक सिद्दीकीले आइतबार ट्वीट गर्दै वार्ताको पुष्टी गरेका छन् । उनले अफगानिस्तान सरकारले दोहामा हुने पहिलो वार्ताका लागि सहमति जनाएको जनाएका छन् । तर दुवै पक्षबीच सीधा वार्ता कहाँ हुन्छ भन्ने कुराको कुनै सम्झौता भएको छैन ।

राष्ट्रपति अशरफ गनीका एक वरिष्ठ सहयोगीले आधिकारिक वार्ता स्थलको बारेमा चाँडै विस्तृत जानकारी सार्वजनिक गरिने बताएका छन् । उता कतारस्थित राजनीतिक कार्यालयका प्रवक्ता तैनात सुहैल शाहीनले पाँच हजार कैदीको रिहा हुनुभन्दा अघि सरकारसँग सिधा वार्ता असम्भव भएको बताएका छन् ।

अमेरिका र तालिबानका बीच भएको सम्झोता अनुसार अफगान सरकार र तालिबानका बीच सिधा वार्ता १० मार्चबाट शुरु हुनुपर्ने थियो । तालिबानसँग वार्ताका लागि अफगानिस्तान सरकारले मार्चको अन्त्यमा २१ सदस्यीय वार्ता समूह घोषणा गरेको थियो । जसमा पाँच महिला पनि सदस्य थिए ।