लण्डन(एजेन्सी) । लण्डनमा बस्ने मार्टिन एशले कान्वेले आफ्नो एक महिला मित्रले आफूलाई चुम्बन गर्दा बिरामी हुनुपरेको भन्दै अदालतको ढोका ढकढक्याएका छन् । कान्वेको भेट एक सामाजिक सन्जालको माध्यमबाट जोवाना लवसेसँग भएको थियो । यो भेटपछि उनीहरुले एकापसमा भेट्ने निर्णय गरे । जसै उनीहरुको पहिलो डेटमा भेट भए, त्यही बेला उनीहरुबीच चुम्बन भएको थियो ।
मार्टिनले जोवानलाई त्यो समयमा चिसोबाट बिरामी भएको र उनले आफूलाई नबताएको दाबी गरेका छन् । उनको त्यही बिरामीका कारण आफ्नो ओठमा इन्फेक्सन भएको र आफू लामो समयसम्म बिरामी भएको उल्लेख गरेका छन् । कान्वेले यो इन्फेक्सनले आफूलाई फ्लू जस्तो लक्षण देखिएको र मुखको छालामा रातो दाग देखिएर तिब्र गतिमा ज्वरो आएको बताएका छन् । यही कारण कान्वेले महिलाका विरुद्ध मुद्दा लड्ने तयारी गरेका छन् । उनले जोवानाबाट १ लाख ३६ हजार ३ सय २८ पाउण्ड क्षतिपूर्ति माग गरेका छन् । कान्वेले चुम्बन र डेटको समयमा आफूलाई जोवानले बिरामीको बारेमा नबताएको दाबी गरेका छन् । जसको परिणाम अहिले उनले भोगिरहनु परेको छ ।
कान्वे एक फिटनेस कोच हुन्, उनी वेस्ट लण्डनमा बस्छन् । सामाजिक सन्जालमा उनीहरुको भेट सन् २०१९ को मेमा भएको थियो । त्यसपछि उनीहरुको भेट बाक्लिन थाल्यो र प्रेम बस्यो । सन् २०१९ जुलाईमा जोवानले उनलाई सेन्ट्रल लण्डनमा भेट्न बोलाएपछि त्यहाँ दुवैले चुम्बन गरेका थिए । उनले जोवानको बिरामीले आफू यति सारो पीडित हुने नसोचेको दाबी गरे ।