लसएन्जल्स(एजेन्सी) । विवाह गरेको दुई वर्ष पछि नै सन् २०१६ को सेप्टेम्बरमा हलिउड आइडल जोडी एन्जेलिना जोली र ब्राड पिटले सम्बन्धविच्छेद गरे । त्यसयता आफूहरुको सम्बन्धबारे मौन रहँदै आएकी अभिनेत्री जोलीले हालैको एक अन्तरवार्तामा सम्बन्धविच्छेदको बारेमा खुलेर कुरा गरेकी छन् ।
एक टेलिभिजनलाई दिएको अन्तरवार्तामा उनले आफ्ना कुरा राखेकी हुन् । ‘म आफ्नो परिवारको भलाईका लागि ब्राडबाट अलग्गिएँ । यो सही निर्णय थियो । सम्बन्धविच्छेदपछि मौन रहँदा केहीले मेरो मौनतालाई फाइदाका रुपमा लिए । मेरा सन्तानलाई मिडियाले ढाट्ने माध्यमका रुपमा प्रयोग गरे । म उनीहरुलाई सम्झाउन चाहन्छु कि उनीहरुको आफन्ै सत्यता र दिमाग छ । हाम्रा ६ सन्तान बहादुर र सक्षम छन्’, उनले भनेकी छन् ।
सन् २००५ मा पिटसँग डेटमा रहँदा जोलीका मेडक्स र जहारा गरी दुई सन्तान थिए । यसपछि ब्राडले पूर्व प्रेमिकाको सन्तानलाई ग्रहण गरे र उनीहरुको अन्तिम नाम कानूनी रुपमा जोली पिट राखे । चार सन्तानलाई धर्मसन्तानको रुपमा ग्रहण गरेपछि उनीहरुले सन् २०१४ मा फ्रान्समा विवाह गरेका थिए । सन् २००८ मा कान्स फिल्म फेस्टिभलमा जोलीले आफूले जम्ल्याहा सन्तान जन्माउन लागेको खुलासा गरेकी थिइन् ।
उनले सन् २००८ कै जुलाईमा नक्स लिओन र भिभिनी मार्चेलिनलाई जन्म दिइन् । नक्स र भिभिनीको संयुक्त तस्बिरलाई उनीहरुले पिपुल र हेल्लो पत्रिकालाई १४ मिलियन डलरमा बिक्री गरे । हालसम्म कोही पनि सेलिब्रेटी जोडीको खिचिएको यो सर्वाधिक महंगो रकम हो । उनीहरुले यो सम्पूर्ण पैसा जोली फिट फाउण्डेसनलाई हस्तान्तरण गरेका थिए ।