श्रीरामको फिल्ममा टीकाको सुनका बाला हातमा

काठमाडौं । निर्देशक श्रीराम महतको नयाँ अनटाइटल फिल्मको काम आइतबारबाट शुरु भएको छ । फिल्मको एक गीत आइतबार रेकर्डिङ गरियो । अभिनेता आकाश श्रेष्ठलाई नेपाली फिल्ममा ‘म त तिम्रै हुँ’बाट डेब्यू गराएका श्रीरामले नयाँ फिल्मको शुरुवात गरेका हुन् ।

आइतबार राजधानीको नक्सालस्थित एकस्टिक रेकर्डिङ स्टुडियोमा महतको फिल्मको आइटम गीत ‘सुनको बाला हातमा’ रेकर्ड सम्पन्न भएको हो । गीतमा गायिका टीका प्रसाईंको स्वर, फिल्मका निर्माता तथा गीतकार हिराकाजी थापाको शब्द र नागेन्द्र श्रेष्ठको संगीत छ । गीतमा साहस शाक्यको एरेन्ज छ ।

‘मैले धेरै किसिमको गीत गएको छु तर यो फिल्मको यस आइटम गीत भने मलाई फरक लाग्यो र मौलिक पनि छ आशा छ गीतको राम्रो चर्चा हुन्छ र यस गीतले सिनेमालाई पनि निकै राम्रो फाईदा गर्ने पक्का छ’ गायिका प्रसाईंले भनिन् ।

निर्देशक महतका अनुसार प्रेमकथाको फिल्ममा चार गीत हुनेछन् । ‘फिल्ममा दुई नायिका हुनेछन् । नायक पनि हामीले विचार गरिरहेका छौ । तर यो लकडाउनले गर्दा हामी थप प्री–प्रोडक्सनको कामलाई अघि बढाउन सकिरहेका छैनौ, दुई नायिकामध्ये एकजना पुरानै नायिका रहने छिन् भने एकजना नायिका यस फिल्मबाट डेब्यु गर्नेछिन’ निर्देशक महतले भने ।