बियर पिएर पिसाब रोक्दा…..

बेइजिङ(एजेन्सी) । धेरै समयसम्म पिसाब रोक्दाको परिणाम गम्भीर हुनसक्छ । चीनका एक व्यक्तिले यस्तै किसिमको काम गरे । दश बोतल बियर पिएर सुतेका उनले १८ घण्टासम्म पिसाब रोकेर राखे । निन्द्राबाट बिउझिउँदा उनको शरीरमा ठूलो दुखाई थियो । त्यसपछि अस्पताल गएर परीक्षण गराउदा उनको मुत्रासय फुटेको कुरा जानकारी दिइयो ।

१० बोतल बियर पिएपछि चीनमा हू नामी नामका व्यक्ति १८ घण्टासम्म बाथरुम नै छिरेनन् । बियर पिएपछि उनी सुतेका थिए । निन्द्राबाट ब्यूँझिदा शरीरमा पीडा भएपछि उनलाई झेजियाङ प्रान्तको एक अस्पतालमा लगिएको थियो । जहाँ उनको शरीरको स्क्यान गरिएको थियो । स्क्यानमा उनको मुत्राशय फुटेको देखाइएको थियो । डाक्टरले उनको मुत्रासय तीन तहमा फुटेको बताएका थिए ।

उनलाई अस्पताल पुर्याउँदा तीन सर्जन उपस्थित थिए । पिसाब जबरदस्ती थामेपछि मुत्राशयमा असर परेको चिकित्सकले जानकारी दिए । त्यसपछि चिकित्सकले बिरामीको अवस्थालाई मध्यनजर गर्दै आकस्मिक शल्यक्रिया गरे । रिपोर्ट अनुसार हूको अवस्था अहिले स्थिर छ । घरमा रहेका उनको स्वास्थ्य अवस्थामा सुधार भइरहेको छ ।