आरआरआरमा अजय राष्ट्रवादी नेता

मुम्बई(एजेन्सी) । फिल्म ‘तान्हाजीः द अनसङ वारियर’को सफलतापछि अभिनेता अजय देवगन वर्षको शुरुवातमै फिल्म ‘आरआरआर’को सुटिङका लागि हैदराबाद पुगे । बाहुबली फेम्ड निर्देशक एसएस राजामौली निर्देशित यो फिल्ममा अजय विशेष भूमिकामा देखिँदैछन् । फिल्म युनिटका अनुसार अजय राष्ट्रवादी नेताका रुपमा देखिँदैछन् ।

आलिया भट्टको पनि विशेष भूमिका रहेको फिल्ममा दक्षिण भारतीय सुपरस्टारहरु रामचरण र जुनियर एनटीआर स्वतन्त्रता सेनानीको भूमिकामा देखिँदैछन् ।उनीहरुको भूमिकामा वास्तविक जीवनका सेनानी कोमारम भेम र अल्लुरी सिताराम राजुबाट प्रभावित छ । समाचार अनुसार फिल्मको फ्ल्यासब्याकमा अजयलाई एक राष्ट्रवादी नेताका रुपमा देखाइनेछ । रामोजी फिल्म सिटीमा छायांकन गरिएको फिल्ममा अजयले १० दिन समय दिएका थिए ।

फिल्ममा आलियाले सिताको भूमिकामा अभिनय गर्दैछिन् । उनको भूमिका पनि फिल्मका लागि महत्वपूर्ण मानिएको छ । फिल्ममा आफ्नो चरित्रलाई न्याय दिलाउनका लागि उनले स्थानीय अनुवादकको सहयोगमा तेलुगू भाषा पनि सिकेकी थिइन् । फिल्मको २५ प्रतिशत भाग छायांकन बाँकी छ । कोरोना महामारीका कारण यी भागको छायांकन हुन नसकेको हो । निर्देशक राजामौली फिल्मको छायांकन अनुमतिको पर्खाइमा छन् ।