वायुमण्डलमा पर्यटक घुमाउदै बेलुन

लसएन्जल्स(एजेन्सी) । अन्तरिक्षको यात्रा गर्न चाहने जोकोही पर्यटकको चाहना अब सन् २०२४ सम्म पुरा हुने भएको छ । स्पेस टुरिज्म स्टार्टअप ‘स्पेस पर्सपेक्टिव’ले पर्यटकलाई एक क्याप्सुल बेलुनमा २० माइल अर्थात एक लाख फिटको उचाईको वायुमण्डलमा भ्रमण गराउदै पर्यटकको चाहना पुरा गर्न लागेको हो ।

स्टार्टअपले क्याप्सूल बेलुनको नाम स्पेसशिप नेप्च्यून राखेको छ । जसमा ९ यात्री बस्न सक्छन् । यो यात्रा ६ घण्टाको हुनेछ । २–२ घण्टाको समय वायुमण्डल पुग्न र ओर्लनमा लाग्नेछ । बाँकी दुई घण्टाको समय वायुमण्डल र एटलान्टिक महासागरको सुन्दर दृश्य देखाउनमा खर्च गरिनेछ । १० हजार फिट माथि आकाशमा बेलुनले यात्रीहरुलाई १ लाख फिटको उचाईमा पुर्याउनेछ । बेलुनमा ठूलो आकारको झ्याल हुनेछ, जहाँबाट यात्रीहरु बाहिरको सुन्दर दृश्यलाई क्यामरामा कैद गर्न सक्नेछन् ।

यो बेलुनको अवधारणा जेन पोइन्टर र टेबर मेक्लमलले बनाएका हुन् । उनीहरुको पछिल्लो फर्मको नाम वल्र्ड व्यू थियो, जुन अन्तरीक्षको तस्बीरहरु सेन्सरका माध्यमबाट खिच्ने काम गर्दथे । सेन्सरलाई वायुमण्डलमा जाने बेलुनमा लगाइएको थियो । निर्माणकर्ताले बेलुन यात्रीको लागि आरामदायक रहने दाबी गरेका छन् । ‘यसमा बस्नु हवाइजहाजमा बसेजस्तै हुनेछ । यसमा कुनै विशेष किसिमको कपडा लगाउन आवश्यक छैन ।’ निर्माण समूहले भनेको छ ।

अमेरिका स्टार्टअपका अनुसार बेलुनलाई फ्लरोडिाको केनेडी स्पेस सेन्टरबाट छोडिनेछ । यो अटलान्टिक महासागरमा रहेको एक पानीजहाजमा ओर्लिनेछ । यसका सहसंस्थापक जेन पोइन्टरले आफूहरु अन्तरिक्षसम्म पुग्नका लागि प्रतिबद्ध रहेको बताए । उनका अनुसार सन् २०२३ मा केही मानिसका लागि यसमा ट्रायल हुनेछ र सन् २०२४ मा पूर्ण रुपमा यात्रीहरुको लागि हुनेछ ।