अन्तरंग दृश्यसँग किन डराउछन् अभिषेक ?

मुम्बई(एजेन्सी) । विवाह र बच्चापछि जोकोही व्यक्तिको जीवनमा परिवर्तन आउँछ । बलिउड अभिनेता अभिषेक बच्चनले आराध्याको पिता बनेपछि आफ्नो व्यावसायिक जीवनका लागि केही फैसला गरेका छन् । उनका अनुसार त्यही फैसलाले उनले कैयौं फिल्मबाट हात धुनु परेको छ ।

अभिषेकले बलिउडमा दुई दशक पुरा गरिसकेका छन् । उनी सामाजिक सन्जालमा आफ्नो यात्रासँग जोडिएका कैयौं सम्झना शेयर गरिरहन्छन् । एक अन्तरवार्तामा उनलाई पत्रकार राजीव मसन्दले पिता बनेपछि उनको जीवनमा के परिवर्तन आयो भनी सोधेका थिए । ‘यसले एक कुरा त परिवर्तन भएको छ । खास किसिमका फिल्म र दृश्यमा काम गर्न असजिलो भइरहेको छ । म त्यस्तो केही काम गर्दिन्, जसबाट मेरो छोरीमा असहजता पैदा होस् या केही यस्तो काम जसलाई हेरेर ऊ यो के भइरहेको छ भन्ने प्रश्न गरोस्’ उनले भनेका छन् ।

अभिषेकका अनुसार उनी रोमान्टिक दृश्य गर्न सहज थिएनन् । यसबाहेक अन्तरंग दृश्य दिन पनि उनी सहज थिएनन् । उनले फिल्ममा हस्ताक्षर गर्नु अघि निर्देशकसँग फिल्ममा धेरै शारीरिक निकटताका दृश्य छन् या छैनन भनेर सोध्ने गरेका छन् ।