डब्बु र लक्ष्मीलाई रातामकैको सम्मान

काठमाडौं । हास्य कलाकार तथा अभिनेता किरण केसी ‘राता मकै’ले आफ्नो जन्मदिन असार १५ को अवसर पारेर अभिनेत्री लक्ष्मी गिरी र पत्रकार, गीतकार तथा चलचित्र निर्देशक डब्बु क्षत्रीलाई सम्मान गरेका छन् । आफ्ना दिवंगत हजुरबुबा बडाहाकिम भोजराज केसी, दिवंगत हजुरआमा ऋदयकुमारी केसी, दिवंगत बुबा लेफ्टिनेन्ट कर्णेल दुर्गाबहादुर केसी र दिवंगत आमा इन्द्रकुमारी केसीको सम्झनामा सात वर्ष अघि स्थापित सम्मानबाट गिरी र क्षत्री ललितपुरमा सम्मानित भएका हुन् ।

साढे चार दशकभन्दा लामो समयदेखि निरन्तर अभिनयमार्फत नेपाली फिल्म, टेलिफिल्म, नाट्य क्षेत्रमा योगदान पुर्याएको भन्दै १० हजार रुपैयाँ राशी सहितको हास्यव्यंग्य कलाकार योगदान सम्मानबाट चरित्र अभिनेत्री लक्ष्मी गिरीलाई सम्मानित गरिएको हो भने २७ वर्षदेखि रंगपत्रकारितामार्फत नेपाली हास्यव्यंग्यसँगै चलचित्र र कला क्षेत्रमा योगदानसँगै गीतलेखन, साहित्य सिर्जना र फिल्म निर्देशनबाट साहित्य, कला क्षेत्रमा योगदान पुर्याएकाले डब्बु क्षत्री (डम्बर बहादुर बुढाथोकी)लाई आज पत्रकारिता क्षेत्रबाट १० हजार रुपैयाँ राशी सहित यो सम्मान प्रदान गरिएको हो ।

अभिनेता केसीले मुलुकमा कोरोना सँक्रमणको महामारी रहेका कारण विगत जस्तो भव्य समारोह नगरी आफ्नो कार्यालयमै ११ जनाको उपस्थितिमा यो सम्मान प्रदान गरेका थिए । मदनकृष्ण श्रेष्ठ तथा हरिवंश आचार्य अर्थात मह जोडीसँग सहकार्यसँगै अभिनय यात्रा प्रारम्भ गरेका केसी पछिल्लो समय कलाकार शिवहरि पौडेलसंगै सहकार्य गरि सफल फिल्म निर्माताको रुपमा समेत स्थापित छन ।