दिवानामा यसरी जोडिए शाहरुख

मुम्बई(एजेन्सी) । बलिउड अभिनेता शाहरुख खानले बलिउड फिल्म उद्योगमा २८ वर्ष पुरा गरेका छन् । टेलिभिजनबाट आफ्नो करियर शुरु गरेका शाहरुख बलिउडमा किङ खानका रुपमा चिनिन्छन् । फिल्म ‘दिवाना’ देखि ‘जिरो’ सम्म आइपुग्दा उनको अभिनयको खुबै प्रशंसा भयो । तर उनले पहिलो फिल्म कसरी पाए भन्ने कुराको जानकारी कमै होला ।

सन् १९९२ मा रिलिज फिल्म ‘दिवाना’मा ऋषि कपुर, दिव्या भारतीका अलावा शाहरुखको पनि अभिनय थियो । फिल्मका निर्माताको पहिलो रोजाईमा शाहरुख थिएनन्, उनको स्थानमा तत्कालिन समयमा सुपरहिट हिरो सनी देओल थिए । निर्माताहरु फिल्ममा सनीलाई प्रमुख भूमिकामा अभिनय गराउन चाहन्थे । तर केही कारणले सनीले यो फिल्ममा काम गर्न अस्वीकार गरे ।

त्यसपछि सनीका पिता धर्मेन्द्रले ‘दिवाना’का निर्माता गुड्डु धनोआलाई युवा कलाकार शाहरुखको नाम सिफारिस गरे । धर्मेन्द्रको सिफारिसले शाहरुखले फिल्म ‘दिवाना’मा काम गर्ने अवसर पाए । यो फिल्म सुपरडुपर हिट भयो । आफ्नो पहिलो फिल्मबाटै शाहरुख आम दर्शकको मनमा बस्न सफल भए । बलिउडको ढोका शाहरखका लागि पूर्ण रुपमा खुल्यो ।

‘दिवाना’ पछि शाहरुखले ‘चमत्कार’, ‘राजू बन गया जेन्टलमेन’, ‘बाजीगर’, ‘डर’, ‘करण अर्जुन’, ‘कुछ कुछ होता है’, ‘दिलवाले दुल्हनिया ले जाएंगे’, ‘मोहब्बतें’, ‘कभी खुशी कभी गम’ जस्ता सुपरहिट फिल्ममा अभिनय गरे ।