टिकटकमा प्रतिबन्धले खुशी टिकटक स्टार

मुम्बई(एजेन्सी) । भिडियोका लागि सोच्नु, त्यसलाई खिच्नु र टिकटकमा राखेर आम मानिसहरुको प्रतिक्रियाको उत्सुकताका साथ प्रतिक्षा गर्नु । भारतीय टिकटक स्टार सनातन महतो र उनकी बहिनी सावित्री कुमारीका लागि यो उनको दिनचर्याको अहम हिस्सा थियो । तर अहिले यी सबै कुरा रोकिएका छन् । टिकटकमा न त भिडियो छ, न त मानिसहरुको लाइक्स र कमेन्ट नै ।

सनातन महतो र उनकी बहिनीको टिकटकमा डान्सर सनातन नामको एकाउन्ट छ । धनबाद जिल्लाको बलियापुरमा बस्ने यी भाइ बहिनी टिकटकमा निकै लोकप्रिय छन् । उनीहरुको टिकटकमा २७ लाख फलोअर्स छन् । उनीहरु अब अर्को प्लेटफर्ममा अगाडि बढ्ने सोच बनाइरहेका छन् । यद्यपि अचानक भएको परिवर्तनलाई सम्हाल्नमा केही समय लाग्नु स्वाभाविक नै हो ।

चीन र भारतको बीच सीमामा भएको तनावका कारण गत सोमबारदेखि भारतले चीनको ५९ एप्सलाई प्रतिबन्ध लगाएको छ । भारतमा एप्सलाई सुरक्षाको दृष्टिले खतरापूर्ण मानिएको छ । सूचना एवं प्रसारण मन्त्रालयले एन्ड्रोइड र आइओएसमा यी एप्स मानिसको निजी तथ्यांकमा नजर लगाइरहेकोले यी एप्सको प्रतिबन्धले भारतको मोबाइल र इन्टरनेट प्रयोगकर्ता सुरक्षित हुने दाबी गरेको छ । मन्त्रालयले भारतको सुरक्षा, अखण्डता र सम्प्रभूतका लागि यो आवश्यक रहेको जनाएको छ । भारतमा टिकटक एप प्ले स्टोरमा देखिएको छैन र पहिला नै डाउनलोड गरिएको एप पनि खुल्न सकेको छैन ।

भारतमा यस्ता कैयौं टिकटक प्रयोगकर्ता छन्, जसले टिकटकका माध्यमबाट आफ्नो पहिचान मात्र बनाएनन्, उनीहरुका लागि कमाईको स्रोत पनि बनेको छ । सहरदेखि गाउँका इलाकासम्म टिकटक स्टार छन् । तर अब उनीहरुको लागि यो एउटा ठूलो परिवर्तन हो । सरकारले टिकटकलगायतका एपमा प्रतिबन्ध लगाए पनि यसका प्रयोगकर्ताले सरकारको समर्थन गरिरहेका छन् । उनीहरु भारतीय सेनाको समर्थन गरिरहेका छन् र यसको विकल्प पनि खोजिरहेका छन् ।

सनातन महतो र सावित्री कुमारीले आफूहरु सरकारको यो निर्णयको साथमा रहेको बताएका छन् । उनीहरुले आफूहरु दोस्रो प्लेटफर्मको बारेमा सोचेर अगाडि बढ्ने योजना बनाइरहेको उल्लेख गरेका छन् । ‘सरकारले हाम्रो निजी सूचनाको सुरक्षाको लागि निर्णय लिएको हो । साथै अहिले भारत र चीनमा तनाव पनि छ । सरकारले हाम्रो भलाईकै लागि नै गरिरहेको छ । त्यसकारण हामी सरकारको साथमा छौं’, सनातनले भनेका छन्, ‘हामीहरु कुनै स्वदेशी एपको प्रयोगका बारेमा सोचिरहेका छौं । हामीलाई आफ्नो युट्युब च्यानलबाट पनि राम्रो प्रतिक्रिया मिलिरहेको छ । त्यसकारण जति हुनसक्छ हामी युट्युब च्इानल र आफ्नो इन्स्टाग्रामलाई अगाडि बढाउने निर्णयमा पुगिसकेका छौं ।’

बीजेपी नेता र टिकटक स्टार सोनाली फोगटले सरकारको निर्णयको समर्थन गर्दै आफूले टिकटक छोड्ने बताएकी छन् । सोनाली टिकटकबाट निकै लोकप्रिय भएकी थिइन् र उनको लाखौं फलोअर्स पनि थिए । यही लोकप्रियतालाई क्यास गर्न उनले बीजेपीको राजनीति सुरु गरिन् । तथ्यांक अनुसार भारतमा टिकटक(म्यूजिकलीसँगै)का करिब ३० करोड, लाइकीका १८ करोड, हेलोका १३ करोड, शेयर इट, यूसी ब्राउजरका १२ करोड हाराहारीमा प्रयोगकर्ता छन् । यो आकडा सन् २०१९ को हो ।

टिकटकमा मानिसहरु नृत्य, कमेडी, कुकिङ फेसन, ब्यूटी टिप्स र अभिनयसँग जोडिएका कैयौं भिडियो बनाएर राख्दछन् । कैयौंले अर्को सामाजिक सन्जालमा पनि आफ्नो पहिचान बनाएका छन् । टिकटक स्टार एजेको टिकटकमा १० मिलियन फलोअर्स छन् । तर पनि उनी टिकटकमा प्रतिबन्धले दुःखी छैनन् । भारतमा टिकटकमाथिको प्रतिबन्धसँगै भारतीय एप्सको प्रयोगलाई पनि बढावा दिन थालिएको छ । सरकारको निर्णयको एकदिन पछि नै भारतीय सर्ट भिडियो एप्स चिंगारी र मित्रोंलाई ठूलो मात्रामा डाउनलोड गरिएको छ ।