आईसीसीको अध्यक्ष बन्लान् सौरभ गांगुली ?

नयाँदिल्ली(एजेन्सी) । सशांक मनोहरले अन्तर्राष्ट्रिय क्रिकेट परिषद(आइसीसी)को पहिलो स्वतन्त्र अध्यक्षको पद बुधबारबाट छोडेका छन् । सशांक दुईपटक आईसीसीको अध्यक्ष भइसकेका छन् । उनले सन् २०१५ नोभेम्बरबाट अध्यक्षको पद सम्हालेका थिए । सशांकको राजीनामा पछि उपाध्यक्ष हङकङका इमरान खूवाजा अन्तरिम अध्यक्ष हुनेछन् । चाँडै नै नयाँ अध्यक्षका लागि चुनाव हुनेछ र आईसीसी बोर्ड आगामी केही हप्तामा चुनावी प्रक्रियालाई आफ्नो अनुमति दिनसक्नेछ । अन्तर्राष्ट्रिय क्रिकेटको यो प्रतिष्ठित पदका लागि भारतले के फेरी आफ्नो दाबेदारी प्रस्तुत गर्नेछ ? के भारतीय क्रिकेट कन्ट्रोल बोर्ड अर्थात् बीसीसीआईको वर्तमान अध्यक्ष सौरभ गांगुली चुनावी मैदानमा उत्रनका लागि तयार छन ? अहिले भारतमा यो प्रश्नमा गम्भीर छलफल भइरहेको छ ।

४७ वर्षका गांगुली यदी चुनाव लड्ने मन बनाइरहेका छन् भने लोढा समितिको एक सिफारिस उनको बाटोमा रोडा बन्न सक्छ । अर्थात् टिम इण्डियाका पूर्व कप्तान गांगुलीको दाबेदारी यो कुरामा भर पर्नेछ कि उच्चतम न्यायालयले उनलाई लोढा समितिको प्रशासनिक सुधारवादी कदम अनुसार कुलिंग अफ पीरियड(अनिवार्य ब्रेक) मा छुट दिएर बीसीसीआई अध्यक्ष पदमा बस्ने मौका दिन्छ या दिँदैन ।

गांगुलीले गत वर्ष अक्टोबरमा बीसीसीआईको अध्यक्ष पदको जिम्मेवारी सम्हालेका थिए । तर लोढा कमिटिको सिफारिस अनुसार उनको कार्यकाल यही महिना सकिँदैछ । सौरभ र बीसीसीआईका सचिव जय शाहलाई कुलिंग पीरियडबाट छुट दिनका लागि बीसीसीआईको अपिल सुप्रीम कोर्टमा विचाराधिन छ । पाकिस्तान क्रिकेट बोर्ड(पीसीबी)को वर्तमान अध्यक्ष अहसान मानीले आफू आईसीसी अध्यक्ष पदको दौडमा नरहेको कुरा बताइसकेका छन् । अहसान सन् २००३ देखि २००६ सम्म आईसीसीका अध्यक्ष भएका थिए । पछिल्लो समयमा मिडियामा मानीको हवाला दिँदै केही व्यक्तिले आफूलाई आईसीसी अध्यक्षको चुनाव लड्नका लागि भने पनि आफू त्यस्तो काम नगर्ने बताएका थिए ।  इंग्ल्याण्ड एवं वेल्स क्रिकेट बोर्डका पूर्व अध्यक्ष ७२ वर्षे कोलिन ग्रेव्स नयाँ अध्यक्षको दाबेदारीमा छन् । उनीबाहेक वेस्ट इन्डिज क्रिकेटका पूर्व प्रमुख डेब केमरन, न्यूजिल्याण्डका ग्रेगोर बार्कले, क्रिकेट दक्षिण अफ्रिकाका क्रिस नेनजानी पनि यो पदका लागि इच्छा व्यक्त गरिरहेका छन् ।

सशांकको बीसीसीआईसँगको सम्बन्धबारे सबै जानकार छन् । गत वर्षको डिसेम्बरमा उनले तेस्रो पटक अध्यक्ष पदका लागि दुई कार्यकालका लागि आफ्नो दाबी पेश नगर्ने बताएका थिए । उनी मे २०१६ मा आईसीसीको पहिलो स्वतन्त्र अध्यक्ष बनेका थिए । स्वतन्त्र अध्यक्षको पद पनि उनको अध्यक्षवाला एक प्यानलको सिफारिसमा बनेको थियो । स्वतन्त्र अध्यक्षको शर्तलाई पुरा गर्नका लागि उनले बीसीसीआईको अध्यक्ष पद छोडे र पुनः आईसीसीसीको अध्यक्ष पद पनि छोडे । जसकारण उनलाई स्वतन्त्र अध्यक्ष घोषणा गरिएको थियो ।