एक दो तीनकी कोरियोग्राफर सरोजको निधन

मुम्बई(एजेन्सी) । बलिउडकी प्रख्यात कोरियोग्राफर सरोज खानको ७१ वर्षको उमेरमा निधन भएको छ । केही समयदेखि अस्वस्थ सरोजलाई गत जून २० मा श्वास लिन गाह्रो भएपछि मुम्बईको बान्द्रास्थित गुरु नानक अस्पतालमा भर्ना गरिएको थियो । उनलाई गए राती कार्डिएक अरेस्ट भएको थियो । उनको अन्त्येष्टि मूम्बईको मलाड इलाकामा रहेको मालवाणी शव दोहनस्थलमा हुनेछ ।

पछिल्लो दिनमा उनको कोरोना संक्रमणको पनि जाँच गरिएको थियो । उनको रिपोर्ट नेगेटिभ आएको थियो । फिल्म ‘देवदास’को गीत ‘डोला रे डोला’का लागि सरोजले नेसनल अवार्ड जितेकी थिइन् ।

सरोजको नाम भारतको फिल्म उद्योगको दिग्गज नृत्य निर्देशकमा लिइन्छ । उनले आफ्नो करियर एक असिसटेन्ट कोरियोग्राफरका रुपमा शुरु गरेकी थिइन् । सन् १९७४ मा फिल्म ‘गीता मेरी नाम’मा उनले पहिलोपटक गीतलाई स्वतन्त्रपूर्वक निर्देशन गरेकी थिइन् । सरोजले आफ्नो करियरमा २ हजार भन्दा बढी गीतको कोरियोग्राफी गरेकी थिइन् । उनले कोरियोग्राफ गरेका फिल्म ‘तेजाब’को ‘एक दो तीन’, ‘देवदास’को ‘डोला रे डोला’ र ‘जब वी मेट’को ‘ये इश्क हाय’लगायतका गीत लोकप्रिय छन् । उनले कोरियोग्राफ गरेको अन्तिम फिल्म ‘कलंक’ थियो । फिल्ममा माधुरी दिक्षितले नाँचेको ‘तबाह हो गई’ गीत सरोजले कोरियोग्राफ गरेको अन्तिम गीत हो ।

उनले तीन पटक बेस्ट कोरियोग्राफीको राष्ट्रिय पुरस्कार जितेकी थिइन् । उनले फिल्म ‘देवदास’, ‘जब वी मेट’ र तमिल फिल्म ‘श्रृंगारम’का लागि नेशनल अवार्ड जितेकी थिइन् । पछिल्ला वर्षमा उनी टेलिभिजनको ‘नच बलिए’, ‘झलक दिखला जा’ र ‘नचले वे विद सरोज खान’ जस्ता कार्यक्रममा देखिएकी थिइन् ।