बीग बोसमा बढ्यो सलमानको पारिश्रमिक

मुम्बई(एजेन्सी) । कोरोना भाइरसको कहरबीच टेलिभिजन शोको सुटिङ सुरु भइसकेको छ । यस्तोमा ‘बीग बोस १४’का निर्माताहरु पनि तिब्र रुपमा यो शोको तयारीमा जुटेका छन् । यसअघि सिजनको जस्तै यसपटक पनि बलिउडका दबंग अर्थात् सलमान खानले नै यो शोलाई होस्ट गर्नेछन् ।

समाचार अनुसार यो शो अक्टोबरबाट अन एयर हुनेछ । सलमानले यो शोलाई होस्ट गर्नका लागि आफ्नो पारिश्रमिकमा बढोत्तरी गरेका छन् । सलमानले एक एपिसोडमा काम गर्नका लागि १६ करोड पारिश्रमिक लिने तयारीमा छन् । अघिल्लो संस्करणमा सलमानले एक एपिसोडवापत १२ देखि १४ करोड पारिश्रमिक लिएका थिए । सलमानले यो चर्चित शोमा आफ्नो पारिश्रमिक बढाउनु कुनै नयाँ कुरा होइन । उनी हरेक सिजनमा आफ्नो पारिश्रमिकको अनुपात बढाउँदै आएका छन् ।

निर्माण पक्षले अघिल्ला संस्करण भन्दा यसपटकको संस्करणलाई पृथक बनाउने योजना बनाइरहेका छन् । कोरोना भाइरसको कहरका कारण निर्माताले सावधानी अपनाउँदै शोमा सहभागिता जनाउन आउने सबै प्रतिष्पर्धीको स्वास्थ्य परीक्षण गराउनेछ । निर्माण पक्षले यसपटकको शोको थिम जंगललाई बनाएको छ । चौधौं संस्करणको यो शोका लागि जस्मीन भसीन, अलीशा पन्वार, आरुषी दत्ता, आकांक्षा पुरी, आँचल खुराना, साहिल खान र आमिर सिद्धिकीजस्ता कलाकारलाई प्रस्ताव गरिएको छ । तर यो शोमा क–कसको आगमन हुन्छ भन्ने निश्चित गरिएको छैन ।