अमेरिकी राष्ट्रपतिमा र्यापर कान्येको उम्मेद्वारी घोषणा

न्यूयोर्क(एजेन्सी) । अमेरिकामा यसै वर्षको अन्त्यमा राष्ट्रपति चुनाव हुँदैछ । चुनावी मैदानमा राष्ट्रपति डोनाल्ड ट्रम्प र डेमोक्रेटिक पार्टीको तर्फबाट जो बाइडन उम्मेद्वार छन् । यही उम्मेद्वारीको दौडमा मनोरन्जन उद्योगका ठूला स्टार तथा र्यापर कान्ये वेस्ट पनि उभिएका छन् । उनले सामाजिक सन्जालमार्फत यो घोषणा गरेका हुन् ।

‘भगवानमाथि विश्वास राख्दै हामीले अब अमेरिकाको त्यो वाचालाई सम्झनुपर्छ, एक भिजनका साथ देशको भविष्यको बारेमा सोच्नुपर्छ । म अमेरिकाको राष्ट्रपति चुनावमा लड्न जाँदैछु’, उनले ट्वीट गरेका छन् । कान्येको यो घोषणा सामाजिक सन्जालमा ट्रेन्ड नै चलेको छ ।

राष्ट्रपति ट्रम्पको समर्थन गर्ने कान्येको चुनाव लड्ने घोषणालाई निकै महत्वका साथ हेरिएको छ । अब उनी यो दौडमा कति अगाडि जान सक्छन्, त्यो समयले बताउनेछ । तर उनको यो घोषणाले सबैलाई कौतुहलता बढाइरहेको छ । कान्येको निर्णय प्रति ठूला व्यक्तिहरुको पनि समर्थन मिलेको छ । टेस्ला कम्पनीका प्रमुख कार्यकारी एलोन मोस्कले कान्येलाई समर्थन गरेका छन् ।

त्यसो त कान्येले यसअघि नै राष्ट्रपति बन्ने इच्छा जाहेर गरेका थिए । त्यही बेला उनले सन् २०२४ मा चुनाव लड्ने योजना बनाएका थिए । तर अब उनले त्यो मिति भन्दा अगाडि नै अर्थात् २०२० मै चुनाव लड्ने निर्णय लिएका छन् ।