अमिताभले चलाउन पाउलान् केबीसी ?

मुम्बई(एजेन्सी) । भारतकै चर्चित र लोकप्रिय टेलिभिजन गेम शो ‘कौन बनेगा करोडपति’ हालका दिनमा पुनः चर्चामा छ । यसको १२ औं सिजनमा भाग लिने प्रक्रिया पछिल्ला केही दिनदेखि चलिरहेको छ । लकडाउनका बाबजुत जब मुम्बईमा सिरियल र फिल्मको सुटिङ बन्द थियो, तब अमिताभ बच्चनले घरबाटै दर्शकलाई प्रश्न सोधिरहेका थिए । यसको प्रोमोको छायांकन पनि पहिलोपटक अमिताभको घरबाटै गरिएको थियो ।

यसपटक यो शोमा सहभागितको अनलाइन प्रक्रिया थियो नै, प्रश्नको उत्तर पनि पहिलाको जस्तै अनलाइनबाटै थियो । तर यो टेलिभिजन शोको इतिहासमा पहिलोपटक दर्शक यसको अडिसन अर्थात सामान्य ज्ञान परीक्षा र भिडियो प्रस्तुति पनि घरमै बसेर अनलाइनबाट गर्नेछन् । यसपछि तमाम प्रक्रियाको अन्तिम चरण पर्सनल अन्तरवार्ता पनि भिडियो कलका माध्यमबाटै हुनेछ । केबीसीलाई लिएर सबैभन्दा ठूलो प्रश्न अहिले पनि बनिरहेको छ । के अमिताभ बच्चन पुनः यो शोको होस्ट गर्नेछन् या गर्दैनन् ? भन्ने प्रश्नले नयाँ बहस सिर्जना गरेको छ ।

महाराष्ट्र सरकारले सुटिङका लागि नयाँ नियममा एक यस्तै शर्त राखेको छ, जुन शर्तमा रहेर अमिताभले यो शो सञ्चालन गर्न पाउनेछैनन् । नियम अनुसार कोरोना महामारीका कारण १० वर्ष भन्दा कम र ६५ वर्ष भन्दा बढी उमेरका व्यक्तिले सुटिङ गर्न त के सुटिङ सेटमा पनि उपस्थित हुन पाउनेछैनन् । धेरै कडा शर्तको पालना गर्दै केही सिरियलहरुको छायांकन पछिल्ला दिनमा शुरु भएको छ । तर केबीसीको सुटिङका लागि सबैभन्दा ठूलो समस्या नै यही हो कि शोका सञ्चालक अमिताभको उमेर ७७ वर्षको छ । त्यसकारण पनि उनीसँग सुटिङ कसरी हुन्छ भन्ने अन्योल छ । फिल्म टेलिभिजन कार्यक्रम निर्माताको संस्थाले राज्य सरकारले यो नियमलाई खुकुलो बनाउन आव्हान गरे पनि सरकारले कुनै चासो दिएको छैन । यदी सरकारले यो शर्तलाई खुकुलो बनाएन भने अमिताभको स्थानमा अन्य कोही युवा होस्ट हुनेछन् ।

वास्तविकता हेर्ने हो भने केबीसीको सफलता र लोकप्रियताको ठूलो कारण अमिताभ नै हुन् । चाहे केबीसीमा ७ करोड रुपैंयाँ जित्नेसम्मको ठूलो आकर्षण होस् । चाहे यही बहानामा अमिताभ बच्चनको अगाडि बस्ने आकर्षण नै किन नहोस् । केबीसीले भारतीय च्यानलमा प्रसारण भएको २० वर्ष पुरा गरिसकेको छ । ब्रिटेनको प्रख्यात शो ‘हू वान्ट्स टू बी ए मिलेनियर’को लोकप्रियता देखेरै यसको भारतीय संस्करण ‘कौन बनेगा करोडपति’ शुरु गरिएको हो । यो शो शुरु हुन लागेपछि अमिताभलाई पहिलोपटक होस्ट गर्न स्टार प्लसले प्रस्ताव राख्दा उनी दोधारमा परेका थिए । किनकी त्यो समयमा ठूला फिल्म स्टारहरु टेलिभिजनमा आउन चाहदैन थिए ।

यो समयमा अमिताभ आफ्नो जिन्दगीको निकै खराब समयमा गुज्रिरहेका थिए । सन् १९९१ पछि उनको चम्किलो फिल्मी करियर ओरालो लागेको थियो । उनी आर्थिक समस्याबाट ग्रस्त बनिसकेका थिए । उनलाई टेलिभिजनमा नआउन धेरैले सल्लाह दिएका थिए । फिल्ममा कमाएको नाम टेलिभिजनले सिध्याउछ भनेर उनलाई भनेका थिए । तर च्यानलले अमिताभलाई कार्यक्रम सञ्चालनका लागि राम्रो पारिश्रमिक दिएपछि उनी राजी भए । केबीसीको हालसम्म ११ सिजन प्रसारण भइसकेको छ, यसमा तेस्रो सिजन मात्र अमिताभले होस्ट गर्न पाएनन् । सोनी च्यानलका सिइओ एनपी सिंहले सरकारको निर्देशिका अनुसार ६५ वर्ष भन्दा बढी उमेरका कलाकारलाई सुटिङमा सहभागी नगराउनु चुनौतिको विषय हो ।