राष्ट्रपतिको दौडमा पेरिस पनि

न्यूयोर्क(एजेन्सी) । यो वर्षको नोभेम्बरमा अमेरिकामा राष्ट्रपतिको चुनाव हुँदैछ । तर यसपटक राष्ट्रपतिको दौडमा वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्प एक्ला छैनन् । यो चुनावी दौडमा जो बिडेन, र्यापर र गायक कान्ये वेस्ट पनि छन् । अब यो दौडमा मोडल पेरिस हिल्टन पनि जोडिएकी छन् ।

पेरिसले सामाजिक सन्जालमा आफू पनि राष्ट्रपति चुनावको दौडमा सहभागी भएको घोषणा गरेकी छन् । उनले ‘अमेरिकालाई पुनः हट बनाइयोस्’ भन्ने नारा अगाडि सारेकी छन् । उनले आफू राष्ट्रपतिको चुनाव लड्ने घोषणा गर्दै अमेरिकी झण्डाका साथ प्रिन्सेस र स्टार इमोजी राख्दै ‘पेरिस फर प्रेसिडेन्ट’ लेखेकी छन् । उनले आफ्नो पोस्टर पनि ट्वीटरमा राखेकी छन् । जसमा उनी पिंक रंगको पहिरनमा देखिएकी छन् ।

पेरिसले अमेरिकाको राष्ट्रपति बनेपछि आफूले मानिसहरुलाई केवल अमेरिकी डिजाइनरको पहिरन लगाउन आग्रह गर्ने बताएकी छन् । यसका अलावा उनले ह्वाइट हाउसलाई पिंक रंगले रंग्याउने जनाएकी छन् । सामाजिक सन्जालमा केही व्यक्तिले उनको भनाईको समर्थन गरेका छन् ।