बासुदेव मुनालको जन्मजयन्तीमा खाद्यान्न सहयोग

काठमाडौ । रेडियोकर्मी तथा लोक गायक बासुदेव कोइराला ‘मुनाल’को ७१ औं जन्मजयन्तीको अवसरमा बालबालिकालाई खाद्यान्न सहयोग गरिएको छ । मुनालको स्मृतिमा गठित बासुदेव कोइराला मुनाल स्मृति फाउण्डेशनले काठमाडौ र ललितपुर आश्रममा रहेका ३७ जना बालबालिकालाई एक महिना पुग्ने खाद्यान्न वितरण गरेको हो । काठमाडौको कीर्तिपुरस्थित बेबी लाइफ होममा रहेका २७ जना र ललितपुरको कुसुन्तीस्थित नेपाल स्नेही काखका बालबालिकालाई सहयोग प्रदान गरिएको हो ।

बेबी लाइफ होममा २७ जना एचआइभी पोजेटिभ बालबालिकाले संरक्षण पाइरहेका छन् । बेबी लाइफ होमले सफलता एचआइभी शिक्षा सदन नामको विद्यालयसमेत सञ्चालन गरेको छ । कक्षा १० सम्मको पढाई हुँदै आएको यस विद्यालयमा अध्ययन गर्ने सम्पूर्ण विद्यार्थी एचआइभी पोजेटिभ हुन् । यो विद्यालयले गिनिज बुक अफ वल्ड रेकर्डमा ‘विश्वमा नै एक मात्र पहिचान सहितको विद्यालय’को रेकर्ड समेत राखेको छ ।  नेपाल स्नेही काखमा १० जना बालबालिका रहेका छन् भने ६५ जना मनोरोगीहरु रहेका छन् । यस संस्थाले सडकमा अलपत्र मनोरोगीहरु र तीनका बच्चाहरु साथै बेवारिसे बालबालिकालाई उद्दार गरेर संरक्षण गरिरहेको छ ।

स्वर्गीय मुनालका छोरा मोहित मुनालले पिताको अधुरा रहेका इच्छा बासुदेव कोइराला मुनाल स्मृति फाउन्डेशनबाट पूरा गर्ने बताए । ‘बुबाले धेरै सपनाहरु देख्नु भएको थियो । बुवाको सपना मध्यको एक बालबालिकाको सेवा पनि हो । अहिलेको कठिन समयमा जे जति सक्यौं त्यति नै गरेका छौं । आउने पुस्ताले बासुदेव कोइराला ’मुनाल’ सम्झन हामीले अरु कार्यक्रमहरु पनि गर्नेछौं ।’ उनले भने । वरिष्ठ रेडियो कार्यक्रम सञ्चालक तथा लोकप्रिय गायक वासुदेव मुनालको २०७४ असोज १४ गते निधन भएको थियो । उदयपुरको चौदण्डीगढीमा २००६ सालमा जन्मिएका उनी मष्तिकघात र घाँटीको क्यान्सरबाट पीडित थिए । नौं वर्षसम्म मष्तिकघातले थलिएका उनको निधन भने क्यान्सरका कारण भएको थियो ।

जीवनका तीन दशक बढि समय रेडियो नेपालको एउटै बाल कार्यक्रम संचालन गरेका मुनालले ‘झम झम ईष्टकोट’, ‘लालुपाते फुलेर लाल भयो’, ‘पानी खाने निहुले तिम्रो घरमा आउँला’, ‘बासुरीको धुनमा मादलुको तालमा’ जस्ता दर्जनौं लोक गीतहरु, सय भन्दा बढि बाल गीतहरु, दर्जनौं बाल साहित्य कृतिहरु प्रकाशित छन् । स्व. मुनालले बाल कार्यक्रममा सुरिलो आवाजमा ‘आओ मेरा प्यारा भाईबहिनीहरु, रेडियो नजिक आओ’ भनपछि बालबालिकाहरु मन्त्रमुग्ध हुन्थे । स्व. मुनालको बाल कार्यक्रममा सहभागीहरु अहिले नेपालका चर्चित व्यक्तित्वहरु छन् ।