फिल्म र विज्ञापनबाट कति कमाउछन् रणवीर ?

मुम्बई(एजेन्सी) । बलिउडका बाजीराव अर्थात् रणवीर सिंहले आफ्नो दमदार अभिनयका कारण करोडौं फ्यानको हृदयमा राज गरिसकेका छन् । आज उद्योगका ठूला निर्माता तथा निर्देशक रणवीरमाथि दाउ लगाउन तयार भएर बसेका छन् । यसबाहेक रणवीरको नाम बलिउडका सबैभन्दा धनी कलाकारको सूचीमा ७ औं स्थानमा छ । फोब्र्स पत्रिकाका अनुसार रणवीरको वार्षिक कमाई १ सय १८ दशमलब २ करोड छ ।

त्यसो त रणवीर आफ्नो कुशल अभिनयका लागि मात्र नभई अन्तरंगी पहिरन सेन्सका लागि पनि फ्यानमाझ प्रिय छन् । रणवीरको पछिल्लो फिल्म ‘गली ब्वाई’ले बक्सअफिसमा २ सय ३८ करोड कलेक्सन गर्नाका साथ अस्करका लागि भारतबाट मनोनित पनि भएको थियो । फिल्म ‘गली ब्वाइ’ भन्दा अघि सन् २०१८ मा रिलिज फिल्म ‘पद्मावत’ले ६ सय र ‘सिम्बा’ले ४ सय करोडको कमाई गरेको थियो ।

फिल्मका अलावा रणवीरको कमाईको एक मोटो हिस्सा विज्ञापन र ब्राण्ड इन्डोर्समेन्टबाट पनि आउछ । यो समयमा रणवीरका साथ २५ भन्दा बढी ब्राण्ड इन्डोर्समेन्ट छन्, जसमा एडिडास, थम्प्स अप, मेक माइ ट्रिप जस्ता ब्राण्ड छन् । यी ठूला ब्राण्डबाट रणवीर हरेक वर्ष मोटो रकम पारिश्रमिक लिन्छन् । त्यसकारण पनि उनको बैंक व्यालेन्स अन्य कलाकारको भन्दा बढी छ ।