डाकालाई एके–४७ को सट्टा गाई !

अबुजा(एजेन्सी) । नाइजेरियाको उत्तर–पश्चिमी जमफारा प्रान्तमा आत्मसमर्पण गरेका डाकाहरुलाई जनही एके–४७ बन्दुकको सट्टा गाई दिइने भएको छ । त्यहाँका गभर्नर बेलो मटावाल्लेले अपराधको जीवन छोडेर एक जिम्मेवार नागरिकका रुपमा बाँकी जीवन जिउन प्रेरित गर्न सरकारको एक प्रयास भनेका छन् । मोटरसाइकलमा सवार डाकाहरुले यो प्रान्तलाई आतंकित बनाइरहेका छन् ।

यहाँको फुलानी चरवाहा समुदाय गाईलाई धेरै मूल्यवान मान्छन् र उनीहरुलाई डाकालाई सहयोग गरेको आरोप लाग्दै आएको छ । तर यो समुदायका मानिसहरु सबै आरोपको खण्डन गर्दै आएका छन् । उनीहरु आफूहरु नै डाकाबाट पीडित रहेकाले डाकालाई सहयोग गरेको आरोप लाग्नु गलत रहेको बताउछन् । उत्तरी नाइजेरियामा औसत एक गाईको मूल्य १ लाख नायरा(२ सय ६० डलर) पर्छ । जबकी कालो बजारीमा एक एके–४७ बन्दुकको मूल्य ५ लाख नायरा(१२ सय डलर) पर्छ ।

गभर्नर मटावाल्लेका अनुसार आत्मसमर्पण गर्ने डाकाहरुले धेरै अगाडि गाईको सट्टा बन्दुक किनेका थिए । तर अब उनीहरु अपराध मुक्त हुन चाहन्छन् । स्थानीय सरकारले डाकाहरुलाई आफूसँग रहेको एके–४७ दिए दुई गाई दिने घोषणा गरिसकेको छ । यहाँका डाकाहरु ठूलो जंगलबाट आफ्नो नेटवर्क चलाउछन् र छिमेकी राज्यमा लुटपाट मच्चाउछन् । उनीहरु प्रायः दोकान, जनावर, अन्न लुट्छन् र फिरौतीका लागि मानिसलाई बन्धक बनाउछन् । जमफारामा हालै भएको एक हमलामा हतियारधारी डाकाले टलाटा मफारामा २१ व्यक्तिको हत्या गरेका थिए ।

अन्तर्राष्ट्रिय संकट समूहका अनुसार पछिल्लो दशकमा केब्बी, सोकोट, जमफारा र छिमेकी देश निजेरमा ८ हजार भन्दा बढी मानिस मारिएका छन् । यो आक्रमणको पछि स्थानीय स्रोतको प्रयोगलाई लिएर दशकदेखि चलिआएको आन्तरिक द्वन्द्व प्रमुख कारण हो । जमफाराका अधिकांश मानिस किसान छन् र राज्यको नारा पनि ‘कृषि हाम्रो गौरव’ नै छ । गभर्नरले जंगलमा रहेको डाकाको क्याम्पलाई पनि हटाउने दाबी गरेका छन् ।