सुशान्तकी अभिनेत्रीलाई ज्यानको धम्की

मुम्बई(एजेन्सी) । बलिउड अभिनेता सुशान्त सिंह राजपूतको अन्तिम फिल्म ‘दिल बेचारा’की अभिनेत्री स्वास्तिका मुखर्जीलाई सामाजिक सन्जालमा एसिड आक्रमण र बलात्कार गर्ने धम्की लगातार आइरहेको छ । अभिनेत्रीले आफ्नो इन्स्टाग्राममार्फत सुशान्तको आत्महत्यासँग जोडेर आफू विरुद्ध गलत समाचार फैलाउन मानिसहरुले ज्यानको लिने र बलात्कारको धम्की दिइरहेको जनाएकी छन् ।

‘२६ जूनमा मेरो आउन लागेको फिल्म ‘दिल बेचारा’का कोस्टार सुशान्त राजपूतको आत्महत्या पछि एक झूठो मिडिया रिपोर्टमा मेरो हवाला दिँदै आत्महत्या गर्नु फेसन भएको बताइएको थियो । यो घटनापछि मलाई ज्यान मार्ने धम्की र मेरो बलात्कार गर्ने अनलाइन धम्की आउन थालेको छ’, उनले लेखेकी छन् ।

अभिनेत्रीले आफ्नो विरुद्ध फर्जी खबर लेख्ने व्यक्तिलाई कोलकाता साइबर क्राइम डिपार्टमेन्टले पक्राउ गरिसकेको बताइन् । ‘फर्जी समाचारको आधारमा जुन व्यक्तिले ममाथि एसिड आक्रमण र बलात्कारको धम्की दिएको थियो, उसलाई पनि गिरफ्तार गरिएको छ । दुवैले अदालतमा आत्मसमर्पण गरेका छन्’, उनले भनेकी छन् ।

उनले कोलकाता साइबर क्राइम विभाग र यो मामलामा मद्धत गर्ने प्रति आभार व्यक्त गरेकी छन् । हालै मात्र सामाजिक सन्जालमा सुशान्त र स्वस्तिकाको एक भिडियो सामाजिक सन्जालमा भाइरल भइरहेको छ । भिडियोमा सुशान्त र स्वास्तिका एक रोमान्टिक गीतमा नृत्य गरिरहेका छन् ।