हसाउने कादरको रोदनपूर्ण जीवन

मुम्बई(एजेन्सी) । बलिउड अभिनेता कादर खानको पहिचान केवल अभिनेतामा मात्र सीमित थिएन । उनी भिलेन, कमेडियन, कथा र संवाद लेखक पनि थिए । फिल्ममा आफ्नो संवादले दर्शकलाई हसाउने कादरको निजी जीवन निकै संघर्षपूर्ण थियो । उनको बाल्यकाल निकै कठिनाइपूर्ण बित्यो ।

कादरका आमाबाबु अफगानिस्तानमा बस्थे । त्यहाँ कादर भन्दा अघि तीन छोरा जन्मिए । तर ८ वर्षको नहुँदै तीनै छोराको निधन भयो । त्यसपछि मात्र कादर जन्मिए । कादर जन्मिएपछि उनका बाबुआमा मुम्बई आए । मुम्बई आएर उनीहरु सुकुम्बासी क्षेत्रमा बस्न थाले । जहाँ मदिरा र जुवाखाल थियो नै प्रायः हत्याको श्रृंखला पनि हुन्थ्यो । विस्तारै विस्तारै कादरको आमाबाबुबीच झगडा भयो र उनीहरुले सम्बन्धविच्छेद गरे ।

आमाबाबुको सम्बन्धविच्छेदपछि पाकिस्तानमा रहेका उनका हजुरबुवा र मामा मुम्बई आएर उनको आमाको जबरजस्ती दोस्रो विवाह गराइदिए । कादर र उनको सौतेला पिताबीच पनि सम्बन्ध राम्रो बन्न सकेन । हरेक दिन उनका सौतेला पिता कादरलाई उनका वास्तविक पितासँग पैसा माग्न पठाउथे । यो कुराको दाबी कादरले आफ्नो एक अन्तरवार्तामा गरेका छन् । ‘२ रुपैंयाँका लागि म कमाठीपुरेदेखि खडक जान्थे र पितासँग बुबा म खराब अवस्थामा छु । मलाई दुई रुपैंयाँ दिनुहोस भन्थें । उहाँ मलाई जसै दुई रुपैंयाँ दिनुहुन्थ्यो, त्यसमध्ये एक रुपैंयाँमा आटा, दाल, घासलेट ल्याउँथें र हप्तामा तीन दिन खाना खान्थे र बाँकी तीन दिन भोकै बस्नुपथ्र्यो’, उनले भनेका छन् । पैसाको आवश्यकता पुरा गर्नका लागि कादरले मजदुरीको काम शुरु गरे । तर आमाले उनलाई पढाईमा ध्यान दिन सल्लाह दिइन् ।

कादरले आमाको सल्लाहलाई स्वीकार्दै पढाईमा ध्यान दिन थाले र डिग्री हासिल गरे । कादरमा अभिनय र अर्को व्यक्तिको नक्कल गर्ने सोख पहिलेदेखि नै थियो । यही सोखको अभ्यास उनी घरनजिकै बनेको एक चिहानघारीमा गर्थे । अभिनयका अलावा कादरलाई लेख्न र पढ्न पनि सोख थियो । एक दिन चिहानारीमा अभिनय गरिरहँदा उनको अनुहारमा एक टर्चको प्रकाश पर्यो । जहाँ केही व्यक्ति थिए, उनीहरुले कादरलाई बोलाए र उनलाई नाटकमा काम गर्न प्रस्ताव गरे । नाटकको बारेमा केही थाहा नपाएका कादरलाई उनीहरुले नाटक सिकाए । उनले ‘मामक अजरा’ नामक नाटकमा काम गर्ने मौका पाए । त्यहाँ उनले रजवाडेको छोराको भूमिकामा अभिनय गरे । यो भूमिकाका लागि उनले दुई सय पारिश्रमिक पाए ।

नाटकमा अभिनय गरेको केही समय पछि उनको आमाको निधन भयो । ‘जब मेरी आमाको निधन भयो, त्यो बेला मैले आमाको निधनबारे जानकारी गराउदा मलाई अप्रिल फूल किन मनाएकोसम्म भने । मेरो आमाको निधन निकै दुःखपूर्ण किसिमले भयो । एकदिन जब म आफ्नो स्टेट प्ले कम्पिटिसनबाट घर फर्कदै थिएँ, तब मैले आमाले रगत भमिट गरेको देखें । आमाको अवस्था देखेर चिकित्सक बोलाउँदा चिकित्सक मसँग आउन आनकानी गरे । त्यसपछि मैले फिल्मी शैलीमा चिकित्सकलाई उठाएर घर ल्याएँ, तर त्यो समय ढिला भइसकेको थियो, किनकी आमा हामी आइपुग्नु भन्दा अघि नै बितिसक्नुभएको थियो’, उनले भनेका छन् ।