सत्यवतीमा भुवनको कला प्रदर्शनी

गुल्मी । स्थानीय सामाग्री प्रयोग गरी मूर्तिकार भुवन थापा ‘बहुबि’ ले बनाएका कलाकृतिको प्रदर्शनी सुरु भएको छ । सत्यवती गाउँपालिका–२, को ठूलो लुम्पेकस्थित सत्यवती लेकमा गरिएको उक्त प्रदर्शनीमा स्थानीय मौलिकतालाई चिनाउने गरी कलाकृति तयार पारिएको छ ।

कलाकार थापाले ‘प्रकृति, कला र समुदायको चुल्ठीबाटी सम्बन्ध’ चिनाउने गरी कलाकृति प्रस्तुत गरेका हुन् । सत्यवती गाउँपालिकाका अध्यक्ष पारिश्वर ढकालले प्रकृति, कला र समुदायको सम्बन्धलाई जोडेर कलाकृति बनाएको बताए । उनले स्थानीय सामाग्रीको प्रयोग गरी बनाइएका कलाकृतिले गाउँपालिकाको पर्यटकीय स्थललाई चिनाउन मद्दत गरेको बताए । विश्वव्यापी महामारीको रुपमा संक्रमण फैलिरहेको कोरोना भाइरस (कोभिड–१९) को संत्रासका बीच ‘प्रकृति, कला र समुदायको चुल्ठीबाटी सम्बन्ध’ लाई प्रस्तुत गरिएको कलाकार भुवन थापाले बताए ।

थापाद्वारा बनाइएका कलामा स्थानीय परम्परागत सीप, ज्ञान र प्रविधिलाई प्रयोग गरिएको छ । कोरोना कहरका बीच लगाइएको बन्दाबन्दीमा कलाकार थापाले बाँस र स्थानीय सामाग्री प्रयोग गरी कला बनाएका हुन् । कलाकार थापाले भने, ‘कोरोना कहरका बीच एकान्तबासमा बसेर समुदायमा आधारित डोको बुन्ने स्थानीय परम्परागत उमयोगी कलाबाट प्रभावित भएर त्यसैलाई ललितकलाको रुप दिने प्रयास गरेको छु ।’ उनले स्थानीय सामाग्रीबाट तयार पारिएका कामलाई प्रदर्शनीमा ल्याएको बताए ।

उनले भने, ‘यसै गुल्मीको सत्यवती गाउँपालिका–३, ठूलो लुम्पेकस्थित प्राकृतिक सौन्दर्यताले भरिपूर्ण पवित्रभूमि नेपालको सय गन्तव्य क्षेत्रमध्ये एक पर्यटकीय स्थल सत्यवती लेकमा औपचारिक रुपमा प्रदर्शनी गरिएको हो ।’ उनले प्रकृतिसँग कला र कलासँग समुदायलाई जोडेर हेर्ने अभिलाषाका साथ कला बनाइएको जिकिर गरे । उनले काठमाडौं विश्वविद्यालय कला विभाग, ललितकला क्याम्पस लगायतका कलासंस्था तथा कलाकारलाई गुल्मीको सत्यवती लेकबाट सम्झेको बताउँदै कलाको बिहंगमतालाई देशव्यापी बनाउन सबै एकजुट हुनुपर्ने बताए । उक्त प्रदर्शनीलाई शुभकामना सन्देश दिँदै प्रदेश ५ का सामाजिक विकासमन्त्री सुदर्शन बरालले गुल्मी सत्यवती गाउँपालिका–३ ठूलो लुम्पेकस्थित सत्यवती क्षेत्र प्राकृतिक र सांस्कृतिक दृष्टिकोणले महत्वपूर्ण स्थानमा स्थानीय जनसमुदायको आफ्नै मौलिक कला र सीपले समेत विशिष्ट क्षेत्र रहेको बताएका छन् ।

नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति केके कर्माचार्यले प्रदर्शनीको शुभकामना दिँदै समुदायमा आधारित डोको बुन्ने परम्परागत उपयोगी कलाबाट प्रभावित भएर त्यसैलाई ललितकलाको रुप दिने प्रयत्न गर्नु अति नै प्रशंसनीय कार्य भएको बताएका छन् । प्रदर्शनीमा गाउँपालिकाका उपप्रमुख सुवर्णा शाहीले कला र संस्कृतिले मानवजातिलाई समृद्ध बनाएको बताइन् । कला प्रदर्शनीको संयोजन सत्यवती क्षेत्र संरक्षण तथा पर्यटन विकास केन्द्र, नेपाल, ठूलो लुम्पेक सामुदायिक पर्यटन विकास समितिले गरेका छन् । साथै प्रदर्शनीलाई प्रभामण्डल युवा क्लव, थुम्काको सहयोग रहेको कलाकार थापाले जानकारी दिए । आयोजक सत्यवती क्षेत्र संरक्षण पर्यटन विकास केन्द्र नेपालका अध्यक्षसमेत रहेका तरामु मगरले समाज विकासमा कलाको भूमिका अहम् हुने भएकाले यसको संरक्षणमा राज्यले विशेष ध्यान दिनुपर्ने बताए ।