कुमकुम भाग्यको सेटमा आगलागी

मुम्बई(एजेन्सी) । भारतीय टेलिभिजन शो ‘कुमकुम भाग्य’को सेटमा शनिबार आगलागी भएको छ । बालाजी टेलिफिल्म्स प्रोडक्सनको शोको सुटिङ सेटमा आगलागी भएको हो । शोको सुटिङ मुम्बईको साकी नाकाको किलिक निक्सनमा भइरहेको थियो । शोका प्रमुख कलाकार शब्बीर अहलूवालिया र सृजि झा यो आगलागीबाट जसोतसो बचेका छन् ।

सुटिङ सेटमा आगलागी हुँदा त्यहाँ सुटिङ भइरहेको थियो । सेटमा आगलागीको भिडियो सामाजिक सन्जालमा भाइरल भइरहेको छ । यो आगलागीमा कोही हताहत भएका छैनन् । शोका कास्ट र क्रुलाई समयमै सुरक्षित स्थानमा लगिएको छ ।

यो आगलागी सर्ट सर्किटका कारण भएको बताइएको छ । फायर ब्रिगेडको गाडी र प्रहरी समयमा नै घटनास्थलमा पुगेका थिए । ‘कसौटी जिन्दगी’को सेटमा कोरोना संक्रमण पाइएपछि हालै मात्र किलिक निक्सन स्टुडियोलाई बन्द गरिएको थियो । तीन दिनसम्म स्टुडियो बन्द गरिएपछि हालैमात्र खोलिएको थियो ।

जीटीभीमा प्रसारण हुने यो शो निकै प्रख्यात छ । सन् २०१४ बाट शुरु भएको यो शोको हालसम्म १ हजार ६ सय १२ भन्दा बढी भाग प्रसारण भइसकेको छ । शोमा सृति झा, शब्बीर अहलूवालिया, शिखा सिंह, लीना जुमानी र विन राणाको अभिनय छ ।