सुशान्तको बायोपिकमा सचिन

मुम्बई(एजेन्सी) । अभिनेता सुशान्त सिंह राजपुतको निधन पछि उनको जीवनबाट प्रेरित फिल्म ‘सुसाइड या मर्डरः एक स्टार खो गया’मा टिकटक स्टार सचिन तिवारी प्रमुख भूमिकामा देखिने भएका छन् । रोचक कुरा के छ भने सुशान्तको अनुहार सचिनसँग मिल्दोजुल्दो छ ।

सचिनलाई विजय शेखर गुताको प्रोडक्सन हाउसबाट बनिरहेको फिल्ममा प्रमुख भूमिकाका लागि अफर आएको छ । यो फिल्मको सुटिङ सेप्टेम्बरबाट शुरु हुनेछ । फिल्मको अधिकांश भाग मुम्बई र पन्जाबमा छायांकन गरिनेछ । फिल्म यसै वर्षको क्रिसमसमा रिलिज गरिने योजना छ ।

फिल्मको फस्र्ट लुक सार्वजनिक गरिएको छ । प्रोडक्सन हाउसले जारी गरेको फस्र्ट लुकमा सचिनलाई देखाइएको छ । तस्बिरमा सचिनलाई बलिउडमा परिचय गराउदै आउटसाइडर लेखिएको छ । सुशान्तको निधन पछि उनलाई आउटसाइडर भनिएको थियो । आउटसाइडर भएकै कारणले उनी लगातार फिल्म उद्योगको निशानामा परेको बुझाई थियो ।

सुशान्तले जून १४ मा बान्द्रास्थित घरमा झुण्डिएर आत्महत्या गरेका थिए । व्यावसायिक रुपमा राम्रो काम गर्दै आएका सुशान्तले के कारणले यो निर्णय लिन पुगे भन्ने तथ्य अझै बाहिर आउन सकेको छैन ।