भक्तपुरमा अरुण थापाको सम्झना

भक्तपुर । शुभारम्भ द म्युजिकल जर्नीको प्रस्तुती एवं भक्तपुर सांगीतिक समाजको आयोजनामा स्वर्गीय गायक अरुण थापाको २१ औं स्मृति दिवस भक्तपुरमा मनाइएको छ । विषम परिस्थिति भएकोले यसपटक यो कार्यक्रम सामाजिक दूरी कायम गरि सामाजिक सन्जालबाट प्रत्यक्ष प्रसारण गरि आयोजना गरिएको हो ।

भक्तपुरका स्थानिय कलाकारहरु गौतम श्रेष्ठ, बिनय कोजु, अन्जना श्रेष्ठ, नबिन्द्र लाल कर्माचार्य, गंगाराम रंजीतकार, प्रबिन शाही, सहकुल अच्छामी, रामहरि ताम्राकार, अधिश्री कसपाल, सर्बश्री कसपाल र रोशन धौभडेलले स्वर्गीय गायक अरुण थापाका गीतहरु प्रस्तुत गरेका थिए ।

उनीहरुले ‘करोडौं मुटुहरुको एउटै’, ‘चोट के हो’, ‘जति माया लाए पनि’, ‘म रोए पनि’, ‘दोष कसैलाई दिन चाहन्नँ’, ‘आँखाको नीद’, ‘ऋतुहरुमा तिमी’, ‘लाग्न थाल्यो जिवनमा’, ‘साँझको जुन सँगै’ गीत प्रस्तुत गरेका थिए । कार्यक्रममा गीतकार सुवासचन्द्र ढुङ्गेल, समाजका सल्लाहकार तथा प्राज्ञ ध्रुव मधिकर्मीलगायतको उपस्थिति थियो । अरुणको क्यान्सर रोगका कारण ४७ वर्षको उमेरमा २१ वर्षअघि साउन ५ गते निधन भएको थियो ।

शुभारम्भ द म्युजिकल जर्नीले भक्तपुर सांगीतिक समाजसँग सहकार्य गरेर गायक अरुण थापालाई स्मरण गरेर कार्यक्रम आयोजना गर्न थालेको यो तेस्रो अवसर हो । कार्यक्रममा गुडविल कन्सल्ट, भादगाउँ टेलिभिजन, कलाकर्मी डटकम, पिक्सेल प्रोडकसन नेपाल, टिशा ईन लन्ज एण्ड बारको सहकार्य थियो ।