सुशान्तलाई बाइपोलर डिसअर्डर

मुम्बई(एजेन्सी) । बलिउड अभिनेता सुशान्त सिंह राजपूतको निधन भएको करिब डेढ महिना पुगिसकेको छ । मुम्बई प्रहरी अहिले पनि हरेक कोणबाट सुशान्तको आत्महत्या मामलामा छानविन गरिरहेको छ । केही दिन अघि मात्र प्रहरीले तीन मनोचिकित्सकसँग सुशान्तको विषयमा सोधपुछ गरेका छन् ।

सोधपुछका क्रममा मनोचिकित्सकले सुशान्त बाइपोलर डिसअर्डर जस्तो बिरामीबाट पीडित रहेको खुलासा गरेका छन् । तीन मनोचिकित्सकले दिवंगत अभिनेता बाइपोलर डिसअर्डरको शिकार भएको दाबी गरेका हुन् । सुशान्तलाई अन्तिम पटक भेटेका एक वरिष्ठ चिकित्सकले पनि सुशान्तको मानसिक स्वास्थ्य र निराकरणको उपाय बारे प्रहरीलाई जानकारी दिएका थिए ।

बान्द्रा प्रहरीले तीन मनोचिकित्सक र एक साइकोथेरापिष्टको बयान दर्ता गराएका छन् । अन्य चिकित्सकका अनुसार अभिनेता निकै तनावपूर्ण जीवन बिताइरहेका थिए । तर डिप्रेसनको सही कारण के थियो भन्ने आफूहरुले पनि थाहा नपाएको उनीहरुले बताएका छन् ।

एक प्रहरी अधिकारीका अनुसार सुशान्तले प्रत्येक चिकित्सकसँग दुई तीनपटक भेटघाट गरेका थिए । एउटा चिकित्सकसँग दुई तीन पटक भेट गरेपछि उनी डाक्टर परिवर्तन गर्दथे । जो चिकित्सकसँग उनले अन्तिम पटक भेटेका थिए, ती चिकित्सकले उनलाई केही औषधि पनि दिएका थिए । तर अभिनेताले दुई महिनाका लागि औषधि लिएका थिए । उनले लकडाउनका समयमा मनोचिकित्सकसँग फोनबाट पनि सल्लाह लिएका थिए, तर उनले सल्लाहको पालना गरेनन् ।