प्लाष्टिकले छोपियो शाहरुखको मन्नत

मुम्बई(एजेन्सी) । कोभिड–१९ महामारीको आतंकबीच मंगलबार बलिउड अभिनेता शाहरुख खानको घर ‘मन्नत’को फोटो सामाजिक सन्जालमा भाइरल भइरहेको छ । जसमा मन्नतलाई प्लाष्टिकले ढाकिएको छ । कैयौंलाई के कारणले मन्नतलाई प्लाष्टिकले ढाकियो भन्ने कुरा कौतुहलताको विषय बनेको छ । केही सामाजिक सन्जाल प्रयोगकर्ताले कोरोनाको डरका कारण शाहरुखले यो कदम चालेको हो कि भन्ने आशंका व्यक्त गरेका छन् । तर यसको वास्तविकता भने भिन्न छ ।

मुम्बईमा पछिल्ला केही दिनदेखि निरन्तर पानी परिरहेको छ । यही कारण मन्नतको कुनै पनि भागलाई नोक्सानी हुनबाट बचाउन र सुरक्षाका लागि शाहरुखले प्लाष्टिकले घर ढाक्ने निर्णय लिएका हुन् । त्यसो त शाहरुखले यो काम पहिलोपटक गरेका भने होइनन्, उनी हरेक वर्ष वर्षातको समयमा मन्नतलाई प्लाष्टिकले ढाक्दै आएका छन् ।

शाहरुखको यो महलमा पत्नी गौरी र तीन सन्तान, आर्यन, सुहाना र अबराम बस्दछन् । कोरोनाका कारण लामो समय कोही पनि सदस्य घरबाट बाहिर निस्किएका छैनन् । उनले एक तलाको ६ कोठा कोरोना संक्रमितको उपचारका लागि मुम्बई महानगरपालिकालाई दिएका छन् ।