बलिउड छोड्ने थप्पड निर्देशकको घोषणा

मुम्बई(एजेन्सी) । बलिउड फिल्म निर्देशक अनुभव सिन्हाले बलिउड छोडेको घोषणा गरेका छन् । एकपछि अर्को कैयौं ट्वीट गर्दै सिन्हाले आफ्नो ट्वीटरमा नाममा ‘नट बलिउड’ पनि जोडेका छन् । यो समय बलिउडमा नेपोटिजम, गुटबन्दीलगायतका विषयमा बहस चलिरहेको छ । यी सबै मामलाका बीच ‘थप्पड’ र ‘आर्टिकल १५’ जस्ता फिल्मका निर्देशक अनुभवले बलिउडलाई लिएर नयाँ बहसको शुरुवात गरेका छन् ।

अनुभवले ट्वीटरमा नाम फेरेको स्क्रिनसट पनि शेयर गरेका छन् । उनले ‘अब धेरै भयो । म बलिउडबाट आफ्नो राजीनामा दिँदैछु’ भनेर लेखेका छन् । उनको ट्वीट पछि अनुभवको कैयौं प्रशंसकले उनलाई बलिउड नछोड्नका लागि अनुरोध गरेका छन् । ‘फेरी कसले ‘मुल्क’, ‘आर्टिकल–१५’ र ‘थप्पड’ जस्ता फिल्म बनाउँछ’ मुशाद्दिक काजी नामक प्रयोगकर्ताले ट्वीट गरेका छन् ।

अनुभवले अर्को ट्वीटमा ‘मलाई थाहा छैन कि म किन आएँ । म त फिल्म मात्र बनाउन चाहन्थें । म खोजी गर्ने कोशिस गरिरहेको छु कि यस्तो किन हुन्छ ?’ भनी लेखेका छन् । अनुभवको यो नयाँ अभियानलाई अन्य फिल्मकर्मीले पनि समर्थन गरेका छन् । सुधीर मिश्राले ट्वीट गरेर अनुभवको अभियानको समर्थन मात्र गरेका छैनन्, उनको नजरमा बलिउड नभएको र आफूले राम्रो फिल्म बनाउन मात्र उद्योगमा आएको उल्लेख गरेका छन् । ‘यो बलिउड के हो ? म त त्यो फिल्मको हिस्सा बन्न आएको थिएँ, जहाँ सत्यजीत रे, राज कपूर, गुरु दत्त, विमल रोय, जावेद अख्तर जस्ता मानिसहरु काम गर्छन् । म जहिल्यै पनि त्यही काम गर्नेछु’, उनले लेखेका छन्, ‘बलिउड छोडौं, भारतीय सिनेमातर्फ जाऔं । भारतको किस्सागोईको दुनियाँमा ।’

यो ट्वीटसँगै उनले अनुभव सिन्हा, हंसल मेहता, अनुराग कश्यप, निखिल आडवाणी, विक्रम मोटवानी, विजय आचार्यसहित कैयौं निर्देशकलाई ट्याग गरेका छन् । तर केही प्रयोगकर्ताले भने महिलालाई ट्याग नगरेकोमा आपत्ति जनाएका छन् । ‘यो सूचीमा एउटा पनि महिला निर्देशकको नाम छैन ? मीरा नायरले पनि तपाईंलाई एक दुईवटा कुरा सिकाउनुहुनेछ’, एक प्रयोगकर्ताले लेखेका छन् ।