टाइगर सिरिजको तयारीमा सलमान र कबीर

मुम्बई(एजेन्सी) । बलिउड अभिनेता सलमान खान र निर्देशक कबीर खान मिलेर ‘एक था टाइगर’, ‘बजरंगी भाइजान’, ‘ट्यूबलाइट’ जस्ता राम्रा फिल्म दर्शकलाई दिए । अब यो जोडी चाँडै नै ‘एक था टाइगर’ र ‘ टाइगर जिन्दा हे’ को तेस्रो टाइगर सिरिजको तयारी गर्दैछन् । फिल्म ‘टाइगर जिन्दा हे’का निर्देशक अली अब्बास जफरको सिफारिसमा सलमान र कबीर टाइगर सिरिजमा जोडिन लागेका हुन् ।

एक्सन थ्रिलरको यो फिल्म हाल शुरुवाती चरणमा छ र चाँडै नै यसको आधिकारिक घोषणा गरिनेछ । व्यस्त समय तालिकाका बाबजुद फिल्म सन् २०२२ मा रिलिज हुनेछ । सलमान र कबीरको फिल्म ‘बजरंगी भाइजान’ले केही दिन अघि मात्र रिलिजको पाँच वर्ष पुरा गरेको थियो ।

सलमानको कामको कुरा गर्दा उनी निर्देशक प्रभुदेवाको फिल्म ‘राधेः योर मोस्ट वान्टेड भाई’मा देखिँदैछन् । कोरोना भाइरसका कारण फिल्मको सुटिङ सारिएको छ । फिल्ममा सलमानका अलावा दिशा पाटनी, ज्याकी श्राफ र रणदीप हुड्डाको पनि अभिनय छ । निर्देशक कबीरको नयाँ फिल्म ‘८३’ कोरोना भाइरसका कारण रिलिज हुन सकेको छैन । फिल्ममा रणवीर सिंह र दीपिका पादुकोण प्रमुख भूमिकामा छन् । फिल्मले सन् १९८३ मा भारतीय क्रिकेट टिमले क्रिकेट वल्ड कप जितेको कथा बोल्नेछ ।