कृष ४ मा चार ऋतिक

मुम्बई(एजेन्सी) । सन २०१९ मा ‘सुपर ३०’ र ‘वार’ जस्ता जबरदस्त हिट फिल्म दिएपछि नै अभिनेता ऋतिक रोशन आफ्नो सुपरहिरो सिरिज ‘कृष ४’को तयारीमा जुटेका छन् । उनका फ्यान पनि ऋतिकलाई पुनः सुपरहिरो अवतारमा हेर्न लालयित छन् । ऋतिक यो वर्षको आफ्नो जन्मदिनपछि फिल्मको तयारीमा जुट्ने खबर आइरहे पनि कोरोना भाइरसको कारण यो सम्भव हुन सकेन ।

यद्यपि उनी कोरोना भाइरसको लकडाउन बीच फिल्मको स्क्रिप्टमा जे जति कमि कमजोरी थियो, त्यसमा सुधार्ने मौका पाएका छन् । पछिल्लोपटक आएको नयाँ खबर अनुसार चौथो सिरिजका ऋतिक चार अवतारमा देखिँदैछन् ।

फिल्ममा उनी दोहोरो भूमिकामा देखिने भन्ने समाचार आए पनि पिता रोहित र छोरा कृषमात्र नभई चार अलग–अलग भूमिकामा देखिनेछन् । फिल्मलाई एउटा ठूलो क्यानभासमा निर्माण गरिनेछ । जुन काम सबैका लागि एउटा फरक अनुभव हुनेछ । यसपटक कृष्णले आफ्नो पिता र ‘कोही मिल गया’को जादुलाई फर्काउनेछन् । राकेश रोशनले फिल्ममा अन्य दुई ऋतिकलाई सहभागी गराउने विषयमा कुनै योजना बनाएका छैनन् । फिल्ममा अभिनेत्रीको भूमिका पनि निकै दमदार हुनेछ ।

फिल्मसँग जोडिएको सूत्रका अनुसार फिल्मको प्री प्रोडक्सन वर्कसप शुरु भइसकेको छ र निर्माताहरु विदेशमा फिल्मको एक भाग सुटिङ गर्ने योजना बनाइरहेका छन् ।