आलिया चिनाउने यी फिल्म

मुम्बई(एजेन्सी) । यतिबेला बलिउडमा ‘इनसाइडर’ र ‘आउटसाइडर’को बहस चलिरहेको छ । नेपोटिजमको यो बहसमा स्टारका सन्तानहरु ट्रोल भइरहेका छन् । ट्रोल हुनेमा बलिउड अभिनेत्री आलिया भट्ट पनि पर्छिन् । ट्रोलमा परे पनि आलियाको फिल्मोग्राफी कम रोचक छैन । उनले अहिलेसम्म बलिउडमा जति पनि फिल्ममा अभिनय गरिन्, ती फिल्मले कहिले उनलाई ताली दियो त कहिले गाली ।

आलिया बाल कलाकारका रुपमा फिल्म ‘संघर्ष’मा पहिलोपटक देखिइन् । तर नायिकाका रुपमा भने उनी ‘स्टुडेण्ट अफ दी इयर’बाट डेब्यू गरिन् । करण जोहारको यो फिल्ममा उनीसँगै वरुण धवन र सिद्धार्थ मल्होत्राले पनि डेब्यू गरेका थिए । यो फिल्मबाट आलिया ‘बेस्ट फीमेल डेब्यू’का लागि फिल्मफेयरको मनोनयनमा पनि परेकी थिइन् । फिल्मले भारतीय बक्स अफिसमा ७० करोडको कलेक्सन गरेको थियो । फिल्मले विश्वव्यापी १ सय ९ करोडको व्यापार गरेको थियो ।

सन् २०१४ मा रिलिज आलियाको फिल्म ‘हाइवे’को चर्चा पनि उस्तै रह्यो । फिल्ममा उनले रणदीप हुड्डाका साथ स्क्रिन शेयर गरेकी थिइन् । इम्तियाज अलीले निर्देशन गरेको फिल्मले समिक्षकबाट तारिफ पाएको थियो । यो फिल्मका लागि आलियाले ‘फिल्मफेयर क्रिटिक्स च्वाइस बेस्ट एक्ट्रेस’को अवार्ड पाएकी थिइन् । फिल्मले भारतीय बक्सअफिसमा ३० करोडको व्यापार गरेको थियो ।

त्यस्तै सन् २०१६ मा रिलिज फिल्म ‘उड्ता पन्जाब’ आलियासँगै शाहिद कपुर, करीना कपूर र दिलजीत दोसाँझको प्रमुख भूमिकामा अभिनय थियो । अभिषेक चौबेले निर्देशन गरेको फिल्मले पन्जाबमा फस्टाएको लागु दुव्र्यसनको चलनलाई देखाइएको थियो । यो फिल्मलाई रिलिज गर्नु अघि सेन्सर बोर्डसँग निर्माण पक्षले निकै बहस गर्नुपर्यो । फिल्ममा आलियाको अभिनयले निकै तारिफ पाएको थियो । उनले यो फिल्मका लागि ‘फिल्मफेयर बेस्ट एक्ट्रेस अवार्ड’ नै जितिन् । फिल्मले भारतमा ६० करोडको व्यापार गरेको थियो ।

शाहरुख खान र आलियाले पहिलोपटक अभिनय गरेको फिल्म ‘डियर जिन्दगी’को चर्चा कम रहेन । सन् २०१६ मा रिलिज यो फिल्ममार्फत निर्देशक गौरी शिन्देले डिप्रेसनको कथा देखाएकी थिइन् । यो फिल्मबाट पनि आलिया पुनः फिल्मफेयरका लागि मनोनित भइन् । फिल्मले भारतीय बक्स अफिसमा ६८ करोडको व्यापार गरेको थियो ।

सन् २०१८ मा रिलिज फिल्म ‘राजी’बाट आलियाले समिक्षकको राम्रो तारिफ पाइन् । मेघना गुजलजारले निर्देशन गरेको यो फिल्मका लागि पुनः एकपटक आलियाले उत्कृष्ट अभिनेत्रीको अवार्ड जितिन् । फिल्मले भारतीय बक्स अफिसमा १ सय २३ करोड बढी कलेक्सन गरेको थियो । सन् २०१८ मै रिलिज ‘गली ब्वाइ’ मा उनले रणवीर सिंहका साथ स्क्रिन शेयर गरेकी थिइन् । आलियाले यो फिल्ममा मुम्बईको गल्लीको युवतीको भूमिका निर्वाह गरेकी थिइन् । फिल्मलाई भारतको प्रतिनिधित्व गर्दै अस्कर अवार्डको मनोनयनमा पनि पठाइएको थियो । यो फिल्मको विरोध भए पनि उनले वेस्ट एक्ट्रिसको अवार्ड जितिन् ।यी प्रमुख फिल्मबाहेक आलिया ‘२ स्टेट्स’, ‘हप्टी शर्माकी दुल्हनिया’, ‘शानदार’, ‘कपूर एण्ड सन्स’, ‘बद्री शर्मा की दुल्हनिया’, ‘कंलक’ जस्ता फिल्ममा पनि अभिनय गरिसकेकी छन् ।