मुम्बई(एजेन्सी) । बलिउड फिल्म ‘बाहुबली’का निर्देशक एसएस राजमौलीसहित उनको परिवारलाई कोरोना संक्रमण भएको छ । निर्देशक राजमौलीले ट्वीट गर्दै यो कुराको जानकारी दिएका हुन् । निर्देशकले आफ्नो र परिवारको स्वास्थ्य अवस्था ठिक रहेकाले नआत्तिन फ्यानलाई आग्रह गरेका छन् ।
राजमौलीका अनुसार उनी र उनको परिवारलाई केही दिनदेखि हल्का ज्वरो आएको थियो । त्यसपछि उनीहरुले कोरोना टेस्ट गर्ने निर्णय लिएका थिए । टेस्ट पछि उनी र उनको परिवारलाई कोरोना पोजेटिभ देखिएको हो ।
‘मलाई र मेरो परिवारलाई केही दिनदेखि ज्वरो थियो । विस्तारै विस्तारै ज्वरो ठिक हुँदै थियो । तर पनि हामीले कोरोना टेस्ट गर्यौ । टेस्टको रिपोर्टमा हामीलाई हल्का कोरोनाको लक्षण देखियो । लक्षण देखिएपछि डाक्टरसँगको सल्लाह अनुसार हामी होम क्वारेन्टाइनमा बसेका छौं’, उनले ट्वीट गरेका छन् ।
राजामौली चाँडै नै दर्शकमाझ फिल्म ‘आरआरआर’ लिएर आउँदैछन् । फिल्ममा एनटी रामा राव जूनियर प्रमुख भूमिकामा छन् । उनीबाहेक अजय देवगन, आलिया भट्ट र श्रेया सरन पनि प्रमुख भूमिकामा छन् । फिल्म आगामी वर्षको जनवरी ८ मा रिलिज हुँदैछ ।