मुम्बई(एजेन्सी) । बलिउड अभिनेत्री दीपिका पादुकोण आफ्नो तस्बिर र फिल्ममा कारण चर्चामा आइरहन्छिन् । तर अहिले भने उनी एउटा पुरानो विवादलाई लिएर पुनः चर्चामा आएकी छन् । फिल्म ‘छपाक’को रिलिज हुनु केही दिन अघि दीपिका जेएनयू गएकी थिइन् । त्यहाँ उनी सीएएका विरुद्धको प्रदर्शनमा सहभागी भएकी थिइन् । दीपिका त्यहाँ गएकोमा उनी धेरै ट्रोल भएकी थिइन् । केहीले त उनको फिल्मको बहिस्कारको माग पनि गरेका थिए । तर विस्तारै माहोल शान्त भयो र फिल्म रिलिज भयो ।
दीपिकाको जेएनयूमा गएको मामला अहिले पुनः चर्चामा आएको छ । पूर्व ‘र’ अफिसर एनके सूदले दीपिकामाथि पाकिस्तानका प्रधानमन्त्री इमरान खानका नजिकका व्यक्तिको भनाईमा जेएनयू प्रदर्शनमा सहभागी भएको आरोप लगाएका छन् । त्यसका लागि दीपिकाले पाँच करोड रुपैंयाँ लिएको उनको दाबी छ ।
दीपिका यो विषयमा मौन छिन् । तर अभिनेत्री स्वरा भास्करले ट्रोलरका विरुद्ध आक्रोश पोखेकी छन् । एक प्रयोगकर्ताले स्वरालाई ट्याग गर्दै ‘जेएनयूको एन्टी–सीएए प्रदर्शनमा जानका लागि दीपिका पादुकोणले पाँच करोड रुपैंयाँ लिइन् ? त्यही स्वरा भास्कर जो करिब एक वर्षदेखि सीएएका विरुद्ध आन्दोलन गरिरहेकी थिइन्, त्यो समयमा उनी एक सी ग्रेडको वेब सिरिज गरिरहेकी थिइन् । भगवान कसैलाई डिप्रेसन दिनुहोस्, तर कम्युनिज्म नदिनुहोस्’ लेखेका छन् ।
यूजरको यो ट्वीटमा स्वराले जवाफ दिँदै ‘बलिउड प्रति यस किसिमको झूठा आरोप फैलाइने गरिन्छ । म एक सर्वसाधारणका रुपमा यी अफवाहहरु र षडयन्त्रलाई किन पत्याउने ? चाहे ती कुरा अश्लील नै किन नहोस्’ भन्दै लेखेकी छन् ।