कपिल शर्मा शो नहेर्न आव्हान

मुम्बई(एजेन्सी) । कोरोना भाइरसपछिको लकडाउनका कारण लामो समयदेखि सुटिङका काम रोकिएका छन् । ती रोकिएका केही काम भने शुरु भइसकेको छ । सुटिङ शुरु भएपछि टेलिभिजन जगतको लोकप्रिय कार्यक्रम ‘द कपिल शर्मा शो’को नयाँ एपिसोडको छायांकन गरिएको छ । जसमा पहिलो अतिथि थिए सोनू सूद ।

यी अभिनेता लकडाउनका समय र त्यसपछि पनि मजदुरलाई सहयोग गरेको कारण चर्चामा थिए । कपिल शर्माको शोको सुटिङ भए पनि केही समूह भने यो कार्यक्रमको खुलेर विरोध गरिरहेका छन् । केही ट्वीटर प्रयोगकर्ताले यो सोनू सूदवाला एपिसोडलाई बहिस्कार गर्न माग गरेका छन् भने केहीले कपिल शर्मा शो नहेर्न आव्हान गरेका छन् ।

कपिलको शो बहिस्कार गर्नुको मुख्य कारण अभिनेता सुशान्त सिंह राजपूतको मृत्यु हो । केही प्रयोगकर्ताले सुशान्तको मुद्दामा अभिनेता सलमान खानलाई पनि मुछेका छन् । सलमान कपिल शोका निर्मातासमेत हुन् । त्यही कारण सलमानको विरोध गर्दै कपिल शर्मा शो बहिस्कारको अभियान चलाएका हुन् । दर्शकहरुले आफ्ना लागि कपिल शर्मा शो मनोरन्जनको माध्यम भए पनि शोमा सलमान जोडिएका कारण शोको विरोध गर्नुपर्ने बताएका छन् ।