मुम्बई(एजेन्सी) । बलिउडमा कैयौं दशकदेखि अभिनेत्रीहरु आफ्नो अभिनय र सुन्दरताले दर्शकलाई मनोरन्जन गराइरहेका छन् । तर केही अभिनेत्रीले भने फिल्ममा भिलेन चरित्रमा अभिनय गरेर पनि दर्शकको वाहवाही बटुले ।
अभिनेत्री काजोलले फिल्म ‘गुप्त’मा नकारात्मक भूमिका निर्वाह गरेर दर्शकको मन जितिन् । फ्यानलाई उनको भूमिका निकै मन पर्यो । यो फिल्ममा काजोलका अलावा बबी देओल र मनिषा कोइरालाको पनि अभिनय थियो ।
अभिनेत्री उर्मिला मातोडकरले रजत मुखर्जीको फिल्म ‘प्यार तूने क्या किया’मा रिया नामकी युवतीको भूमिकामा अभिनय गरिन् । उनको भूमिका भिलेनको थियो । उनको भूमिकालाई दर्शकसँगै समिक्षकले पनि मनपराएका थिए ।
बलिउडकी सदाबहार अभिनेत्री रेखाले पनि भिलेनका रुपमा दर्शकको मन जितिन् । अक्षय कुमार र रवीना टण्डनका साथ फिल्म ‘खिलाडियों का खिलाडी’मा रेखाले मेडम मायाको नेगेटिभ भूमिका निर्वाह गरेकी थिइन् । यही फिल्मबाट रेखाले ‘बेस्ट भिलेन’को ‘स्टार स्क्रीन अवार्ड’ पनि पाएकी थिइन् ।
अभिनेत्री अरुणा इरानीले अनिल कपूर र माधुरी दिक्षितको फिल्म ‘बेटा’ मा नकारात्मक भूमिका निभाएकी थिइन् । उनको यो भूमिका यति सशक्त थियो कि यो फिल्म हेरेका दर्शकले अरुणालाई घृणा गर्न थालेका थिए । इरानी पनि यो फिल्ममा आफूले निभाएको सौतेली आमाको भूमिका आफ्ना लागि सम्झनालायक रहेको बताउँछिन् ।
अक्षय कुमार, प्रियंका चोपडा र करीना कपूरको फिल्म ‘ऐतराज’ आज पनि दर्शकलाई उत्तिकै मनपर्ने फिल्म हो । यो फिल्ममा प्रियंकाले सोनिया नामको नकारात्मक भूमिका निर्वाह गरेकी थिइन् । उनले यो भूमिकाका लागि सन् २००४ मा ‘बेस्ट भिलेन’को फिल्मफेयर अवार्ड जितेकी थिइन् ।