मृत भेटिए कहानी घर–घर कीका समीर

मुम्बई(एजेन्सी) । भारतीय लोकप्रिय टेलिभिजन अभिनेता समीर शर्मा मुम्बईको मलाडस्थित आफ्नै घरमा मृत भेटिएका छन् । प्रहरीले उनले आत्महत्या गरेको हुनसक्ने अनुमान लगाएको छ । ४४ वर्षे समीरले ‘क्योंकि सास भी कभी बहू थी’, ‘कहानी घर–घर की’ र ‘ये रिश्ते है प्यार के’ जस्ता टेलिसिरियलमा काम गरेका थिए । एक प्रहरी अधिकारीले बुधबार बेलुका उनको फ्ल्याटमा शव भेटिएको पुष्टि गरेका छन् ।

मलाड पुलिस स्टेसनका वरिष्ठ इन्स्पेक्टर जर्ज फर्नान्डिजले घटनास्थलबाट कुनै पनि सुसाइड नोट नभेटिएको बताए । उनले दुई दिन अघि नै आत्महत्या गरेको हुनसक्ने आशंका रहेको फर्नान्डिजले जनाए । ‘हामीले उनको कोठाबाट कुनै पनि सुसाइड नोट भेटाएका छैनौं । लाग्छ यो आत्महत्याको मामला हो । उनले दुई दिन अघि नै आत्महत्या गरेको हो कि भन्ने अनुमान लगाइएको छ । हामीले शवलाई पोस्टमार्टमका लागि अस्पताल पठाइसकेका छौं’, उनले भनेका छन् ।

एक वाचमेनले झ्यालबाट उनको शव कोठामा देखेका थिए । त्यसपछि उनले अभिनेता बस्ने घरको वरपरका मानिसलाई जानकारी गराएका थिए । त्यहाँका मानिसहरुले प्रहरीलाई खबर गरेपछि अभिनेता शर्मालाई अस्पताल पुर्याइए पनि डाक्टरले मृत घोषणा गरेको थियो । प्रहरीका अनुसार समीर गत फेब्रुअरीदेखि आफ्नो फ्ल्याटमा एक्लै बस्दै आएका थिए । प्रहरीले उनको परिवारलाई सम्पर्क गर्ने प्रयास गरिरहेको छ । प्रहरीले प्रारम्भिक चरणमा एक एक्सिडेन्टल डेथ रिपोर्ट(एडीआर) दर्ता गराएको छ र अन्य अनुसन्धान भइरहेको छ । प्रहरीले यो मामलामा आर्थिक कोणबाट पनि अनुसन्धान गरिरहेको छ ।

मुम्बई प्रहरी यो समयमा बलिउड अभिनेता सुशान्त सिंह राजपूतको मृत्युको मामलाको अनुसन्धान गरिरहेको छ । सुशान्त बान्द्रास्थित आफ्नो अपार्टमेन्टमा मृत भेटिएका थिए । नयाँदिल्लीमा जन्मिएका समीरले बेङ्लोरबाट आफ्नो पढाई पुरा गरेका थिए । पढाई पुरा गरेपछि उनले विज्ञापन एजेन्सीमा काम गरेका थिए । सन् २००३ मा मुम्बई आएपछि उनले अभिनय यात्रा शुरु गरेका थिए ।

उनले पहिलो अवसर सन् २००४ मा स्टार वान टेलिभिजनको टेलिसिरियल ‘दिल क्या चाहता है’मा पाए । यो सिरियलमा उनको अभिनयलाई रुचाइएपछि एकता कपूरको चर्चित सिरियल ‘कहानी घर–घर की’मा काम गर्ने मौका पाए । त्यसपछि उनले कहिल्यै पछाडि फर्केर हेर्नु परेन ।