अमेरिकामा टिकटक र वीच्याट प्रतिबन्ध

न्यूयोर्क(एजेन्सी) । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चिनियाँ भिडियो एप टिकटक र वीच्याटमा प्रतिबन्ध लगाउने एक आदेशमा हस्ताक्षर गरेका छन् । यो प्रतिबन्ध आगामी ४५ दिनमा लागू हुनेछ । अमेरिकी रुाष्ट्रपति ट्रम्पले अमेरिकाको राष्ट्रिय सुरक्षाका लागि यो फैसला आवश्यक रहेको बताएका छन् ।

यो कार्यकारी आदेश अनुसार आगामी ४५ दिनमा टिकटकको पेरेन्ट कम्पनी बाइटडान्ससँग कुनै पनि किसिमको लेनदेनलाई रोक लगाइनेछ । आदेशमा अमेरिकालाई देशको सुरक्षाका लागि टिकटकको मालिकहरु विरुद्ध आक्रामक कदम उठाउन आवश्यक रहेको जनाइएको छ । अमेरिकी कम्पनी माइक्रोसफ्ट अमेरिकामा टिकटकको कारोबार खरिद गर्न चाहन्छ ।

राष्ट्रपति ट्रम्पको आदेशपछि अब माइक्रोसफ्टमाथि यो सम्झौतालाई पुरा गर्नका लागि धेरै समय रहनेछैन । अमेरिकी राष्ट्रपतिले एउटा अर्को कार्यकारी आदेश जारी गर्दै अर्को एक चिनियाँ एप वीच्याटमा प्रतिबन्ध लगाउने आदेश पनि जारी गरेका छन् । वीच्याटका मालिक चीनको टेक कम्पनी टेन्सेन्ट हो । आदेशपछि टेन्सेन्टको शेयरको मूल्य पनि घटेको छ । ट्रम्पले दुवै एपलाई खतराको संज्ञा दिएका छन् ।  टिकटकलाई बाइटडान्स नामको कम्पनीले सन् २०१७ मा सार्वजनिक गरेको थियो । त्यसपछि उनसले म्यूजिकल्ली नामको एक भिडियोको सेवा किन्यो, जो अमेरिका र यूरोपका युवामा अत्याधिक लोकप्रिय सेवा बन्यो ।

सारा विश्वमा टिकटकको ५० करोड र अमेरिकामा करिब ८ करोड प्रयोगकर्ता छन् । यसको प्रयोगकर्ताको एउटा ठूलो हिस्सा २० वर्ष वा त्यो भन्दा कम उमेर समूहका छन् । अमेरिकामा अधिकारीहरु र नेताहरु टिकटकका माध्यमबाट बाइट डान्स कम्पनी तथ्यांक संकलन गर्दै चिनियाँ सरकारसमक्ष पुग्ने गरेको भन्दै चिन्ता व्यक्त गरिरहेका छन् । माइक्रोसफ्ट कम्पनीले अमेरिका, क्यानाडा, अष्ट्रेलिया र न्यूजिल्याण्डको बजारमा टिकटकको अधिकार किन्न चाहे पनि ट्रम्पको आदेशले यसमा असर परेको छ ।